रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सहयोग तथा युवा नेपाल संघ वीरगञ्जको आयोजनामा सरस्वती माध्यमिक विद्यालय पिपरा भलोयिहामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।
शिविरको उद्घाटन कार्यक्रममा युवा नेपाल संघका अध्यक्ष गौरव वर्माको अध्यक्षता रहेको थियो भने दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंह प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उपाध्यक्ष शिला देवी, वडा नं. १ का अध्यक्ष प्रधुम्न जैसवाल, वडा नं. २ का अध्यक्ष सुरेश चौधरी, वडा न.३ का वडा अध्यक्ष डिके झा,वडा नं. ४ का अध्यक्ष रामानन्द राय यादव, तथा वडा नं. ५ का अध्यक्ष धर्मनाथ चौधरीको समेत विशेष उपस्थिति रहेको थियो ।
शिविरमा स्वास्थ्य शाखा प्रमुख दिनेश महतोको समन्वयमा खटिएको विशेषज्ञ चिकित्सकहरूको टोलीले मुटु सम्बन्धी प्रारम्भिक परीक्षण, रक्तचाप मापन, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि निःशुल्क रुपमा वितरण गरेका छन् । शिविरमा सेवा प्रदान गरिरहेका प्रमुख विशेषज्ञहरूमा नेपाल हर्ट केयर सेन्टर, डा. ईमरान अली, न्यूरो स्पाइन एण्ड इनटी पोलिक्लिनिकका मस्तिष्क, स्पाइन तथा नशा रोग विशेषज्ञ डा. सफरोज अंसारी, तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. फिरोज अंसारी रहेका छन् ।
शिविरमा मुटु सम्बन्धी इसीजी, इको (भिडियो एक्सरे), ब्लडप्रेसर र चिनीको जाँच, मस्तिष्क, नशा, स्पाइनसम्बन्धी रोगको परामर्श, तथा नाक, कान, घाँटी सम्बन्धी जाँच र उपचार सेवा प्रदान गरिँदैछ ।
गाउँपालिका अध्यक्ष शम्भू सिंहले उद्घाटन मन्तव्यमा यस्ता स्वास्थ्य शिविरहरूले नागरिक र पालिकाबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए । शिविरको पहिलो दिनमै उल्लेखनीय सङ्ख्यामा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । असार २१ र २२ गते शनिबार र आइतवार सञ्चालन हुने यस शिविरले ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्दै प्राथमिक उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।