रौतहट। रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित भित्री सडक खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ना २८ प ७२५९ नम्बरको मोटरसाइकल र म.प्र.०३–००१ क २५१६ नम्बरको टिपर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कटहरिया नगरपालिका–६ फतेपुर निवासी शेख जागीरका २० वर्षीय छोरा शेख सोहेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार दुर्घटनामा मोटरसाइकल चालक गरुडा नगरपालिका–८ निवासी शेख मनिरका २२ वर्षीय छोरा शेख आशिक तथा अब्दुल जवारका छोरा कमरान घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले टिपरसहित चालक चन्द्रपुर नगरपालिका–५ निवासी रामचन्द्र चौधरीका ४३ वर्षीय छोरा धरमलाल चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
यसैबीच, स्थानीयवासीले पछिल्लो समय उक्त क्षेत्रमा टिपरहरूको तीव्र र अव्यवस्थित सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको बताएका छन्। केही दिनअघि पनि सोही क्षेत्रमा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको थियो। लगातार भइरहेका यस्ता घटनाले टिपर सञ्चालनमा कडाइ गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।










