माधव नारायण नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

42

रौतहट, असार २ । रौतहट जिल्लाका स्थानीय तहहरूमध्ये माधवनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरी नगर अधिवेशन सम्पन्न गर्ने पहिलो पालिका बनेको छ। समयमै बजेट ल्याउने कार्यले नगरपालिकाको सक्रियता, दूरदृष्टि र विकासप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।
नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख बैजनाथ प्रसाद यादव ले ५० करोड २९ लाख २० हजार ३६३ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ।
नगरप्रमुख यादवको नेतृत्वमा समयमै नीति तथा कार्यक्रम र बजेट ल्याइनुले सुशासन, पारदर्शिता तथा विकासप्रति नगरपालिकाको दृढ संकल्प झल्किएको स्थानीयवासीहरूको भनाइ छ। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर तयार गरिएको बजेटले नगरको समग्र समृद्धि र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
नगरसभामा उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सौहार्दपूर्ण वातावरणमा सम्पन्न नगरसभाले विकासप्रेमी र जिम्मेवार स्थानीय सरकारको सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
समयमै नगरसभा सम्पन्न गर्दै विकासका योजनाहरूलाई गति दिने कार्यमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै स्थानीयवासी तथा सरोकारवालाहरूले माधवनारायण नगरपालिकाको प्रशंसा गरेका छन्। नगरप्रमुख बैजनाथ प्रसाद यादवको नेतृत्वमा नगरले विकास र समृद्धिको नयाँ यात्रा तय गरिरहेको भन्दै नागरिकहरूले खुसी व्यक्त गरेका छन्।