रौतहट — रौतहट जिल्लाको इशनाथ नगरपालिकाले शनिबार ११ औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ४६ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० भित्र नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार नगरपालिकाले निर्धारित समयमै सभा सम्पन्न गरेको हो ।
नगर प्रमुख कौशल्या देवी सिन्हाले चालु आर्थिक वर्षमा सम्पन्न योजना र कार्यक्रमहरूको विवरण प्रस्तुत गर्दै निर्वाचनमा जनतासामु गरेका वाचा अनुसार योजनाहरू कार्यान्वयनमा ल्याइएको छ भन्दै कृषि सिचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताइन् । महिला सशक्तिकरणका लागि सिपमूलक तालिम, स्वरोजगार र आयआर्जनको अवसर विस्तार गर्ने नीति प्रस्तुत गरिएको छ । साथै, पर्यटन पूर्वाधार विकास, लोपोन्मुख संस्कृति संरक्षण, खेलकुद मैदानको व्यवस्थापन जस्ता कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
पूर्व शिक्षा सचिव तथा प्रमुख अतिथि डा. रामस्वरुप सिन्हाले नीति तथा कार्यक्रमलाई सकारात्मक भन्दै पारदर्शी कार्यान्वयनमा जोड दिए । उपप्रमुख प्रवेज आलमले आगामी वर्षको आय-व्यय विवरण प्रस्तुत गरेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको संयोजनमा नीति तथा कार्यक्रम तयारी गरिएको जनाइएको छ।