बिना अनुगमन र गुणस्तरहीन योजनाको भुक्तानी नदिन नगरप्रमुख सिन्हाको कडा निर्देशन

19

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी सिन्हाले आर्थिक वर्ष २०८१÷८२ को अन्तिम चौमासिकमा योजनाहरूको भुक्तानी प्रक्रियालाई कडाइका साथ अनुशासित बनाउने उद्देश्यले बिना अनुगमन तथा गुणस्तरहीन कार्यको भुक्तानी नदिन स्पष्ट निर्देशन दिनुभएको छ ।
नगरप्रमुख सिन्हाले नगरपालिका इन्जिनियर बिराज मिश्रा, लेखा अधिकृत मनोज ठाकुर तथा योजना सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिँदै भनिन् योजनाहरूको स्थलगत अनुगमन नगरीकन आवश्यक प्राविधिक मापदण्ड पुरा नगरीकन र पारदर्शिता सुनिश्चित नगरीकन कुनै पनि योजनाको भुक्तानी नगरिनुहोस्। त्रुटिपूर्ण कार्यको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समिति वा सम्बन्धित ठेकेदारले स्वयं लिनुपर्नेछ ।
सोही निर्देशनका आधारमा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको नेतृत्वमा प्राविधिक टोलीले विभिन्न वडाहरूमा स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले योजनाको कार्यान्वयन, गुणस्तरीयता, मापदण्डको पालना तथा पारदर्शिताको अवस्था मूल्याङ्कन गरेको जानकारी नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख सिन्हाले सार्वजनिक धनको दुरुपयोग रोक्न, जवाफदेहितालाई सुनिश्चित गर्न र पारदर्शी तथा दिगो विकास निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ। उहाँले सबै योजनाहरूमा जनसहभागिता गुणस्तर र परिणाममुखी कार्यान्वयन आवश्यक भएको धारणा पनि व्यक्त गर्नुभएको छ ।