उपप्रमुख खातुनले विभिन्न ५ सुत्रिय माग राखेर सिडियो लाई बुझाईन् निवेदन

1129

राैतहट । भदौ १०
रौतहटको गुजरा नगरपालिकाकी उपमेयर रौसन खातुन शेखले न्यायको लागि जिल्ला प्रशासन कार्यालयको सहारा लिएकी छिन ।
उप प्रमुख खातुनले आफनै नगरपालिकाका मेयर सन्तलाल चौधरीबाट आफु अन्यायमा परेको भन्दै न्यायको लागि आज जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग गुहार मागेकी छिन ।
मेयर चौधरीले पछिलो समय आफुलाई बाइपास गरी एकलौटी हिडन खोजेको भन्दै न्याय दिलाउन उपमेयर खातुनले प्रमुख जिल्ला अधिकारी यादवलाई आज लिखित रुपमा एक निवेदन पत्र बुझाएकी छिन ।
उपप्रमुख खातुनले विभिन्न ५ सुत्रिय माग राखेर सिडियो यादवलाई निवेदन बुझाएकी हुन ।
नगर उपप्रमुख रौशन खातुनले कोरोना तथा राहतको नाममा भएको खर्च, दुई आर्थिक वर्ष २०७५, ७६ मा भएका कुन शीर्षक र योजनामा कति खर्च भयो त्यसको विवरण, आर्थिक वर्ष २०७६, ७७ मा प्रदेश सरकारबाट प्राप्त अनुदानको खर्च, २०७५, ७६ एवं ७६, ७७ को राजस्वको आम्दानी र खर्चको विवरण तथा गाडी भाडामा भएको खर्चहरुको विवरण नगरपालिकाबाट आफुलाई उपलब्ध गराईदिन सिडियो यादवलाई आग्रह गरेकी हुन ।
मेयर चौधरी र हाकिमबाट यी शीर्षकहरुमा भएको खर्चहरुको विवरण पटक पटक माग गर्दा दिन नमानेकोले बाध्य भएर सिडियो कार्यालयमा निवेदन दिनु परेको गुजरा नगरपालिकाकी उपप्रमुख खातुनले बताएकी छिन ।
सिडियो कार्यालय पुगेकी खातुनले विकास निर्माणका काम अथवा कुनै पनि काम गर्दा मेयर चौधरीले आफुलाई कुनै वास्ता नगर्ने गरेको दुखेसो गरेकी हुन । मेयरले आफुले राज्यबाट पाएको अधिकार समेत खोसेको उपमेयर खातुनको भनाई छ ।
मेयरले आफूलाई कर्मचारीलाई जस्तैे व्यवहार गरेको समेत उनले बताइन् ।
उपमेयरले मेयरले काम गर्न नदिएकाले पाएको अधिकार प्रयोग हुन नसकेको, महिला भनेर नै हेप्ने गरेको र बाइपास गर्न खोजिएको गुनासो गरेका छन् ।
जनताले मेयर उपमेयर दुवैलाई मत दिएर जिताए पनि मेयरले विकासको काममा आफुलाइ पछाडी पारेको उनले गुनासो गरिन ।
मेयरले आफुलाई महिला भएकाले भेदभाव गर्दै आएको आरोप पनि लगाइन् । मेयरको मनोमानीकै कारण कर्मचारी, प्रशासकीय अधिकृतले समेत आफुलाई टेर्न छाडेकोले बाध्य भएर जिल्ला प्रशासन कार्यालयसँग न्याय माग्नु परेको उनले बताईन ।
सरकारले बन्दुक दिए तर गोली दिएन, कसरी बन्दुक पड्काउने” भने उदाहरण दिदै गुजराकी उपमेयर खातुनले मेयर मुखी नगरपालिका भएको आरोप लगाएकी छिन् ।
सरकारले बन्दुक दिएर तर पड्काउन गोली दिएन जस्तै स्थानीय तह संचालन ऐनमा उपमेयरलाई अधिकार सम्पन्न बनाइएको तर मेयरद्धारा उक्त अधिकारहरु लाई वेवास्ता गरिदा आफू अन्यौलमा परेको उनले आरोप लगाएकी हुन् ।