काठमाण्डौं, ७ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउनको अन्त्य नहुने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताएका छन् ।
शनिबार साँझ सरकारी मिडियाका संवादकहरुसंगको अन्र्तबार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताए ।
बालुवाटारमा बोलाएमा गएका नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका सञ्चारकर्मीलाई प्रधानमन्त्री ओलीले सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना लगायतका विधि अपनाई काम गरेकाले कोरोना भाइरस सङ्क्रमणले नेपालमा विकराल रूप लिन नपाएको समेत बताए।
कोरोना भाइरस विश्वमा डढेलोझैँ फैलिइरहेको अवस्थामा यसको सङ्क्रमणबाट नेपालमा कसैले पनि जीवन गुमाउन नपरोस् भनी सरकारले पर्याप्त सतर्कता अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसको नियन्त्रण, रोकथाम र उपचारमा सफलतापूर्वक अगाडि बढिरहेको बताए ।
अर्थ तन्त्रबारे संचारकर्मीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्रीले अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकाले मानव जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताए । अहिले नागरिकको जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराखिने समेत प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।
लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने बताए ।
विश्वमा कोरोना निर्मूल नभएसम्म प्रवेशद्वार खोल्ने विषयप्रति सरकार सतर्क रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा भावुक कुरा नगर्न आग्रह समेत गरे।
नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीहरुबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भारत सरकारले होटलमा राख्न खोज्दा दसगजामा जम्मा हुनुलाई अलपत्र भन्न नमिल्ने र कोरोना साम्य भएपछि कोरोनारहित भएर मात्र उनीहरु घर फर्कनुपर्ने सल्लाह दिए।