लकडाउनको बेला भैरवी गाउँपालिकाको एम्बुलेन्स बिरामीको नाममा सिफारिस बनाएर कपडा व्यापारी ओसार्दै।

1412

खगेन्द्र हमाल दैलेख सुर्खेत सीमामा रहेको रानीमत्ता प्रहरी चौकीको नियन्त्रणमा रहेको भैरवी गाउँपालिकाको एम्बुलेन्स । कोरोनाभाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशभरी लकडाउन गरिएको बेला भैरवी गाउँपालिकाले संचालन गरेको एम्बुलेन्सले बिरामीको नाममा यात्रु ओसारपसार गरेको छ।मंगलवार पाँच जना यात्रु बोकेर नेपालगन्ज जान लागेको गाउँपालिकाको भे १ झ २८९ नम्बरको एम्बुलेन्सलाई दैलेख सुर्खेत सिमानामा रहेको रानीमत्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।नेपालगन्ज बिरामी लिन जान लागेको भनिएको सो एम्बुलेन्सले नेपालगन्ज घर भएका ४ जनालाई समेत लिएर जान लागेको रानीमत्ता प्रहरी चौकीले जनाएको छ । ५ जना यात्रुमध्ये एकजना एम्बुलेन्स चालकका सहयोगी र ४ जना नेपालगन्जका कपडा व्यापारी रहेको र उनीहरु व्यापारको शिलशिलामा दैलेख आएको वुझिएको छ ।

वडाध्यक्ष देवी भण्डारीको सल्लाहमा सो एम्बुलेन्सका चालक हेमराज रिजालले भैरवी गाउँपालिका वडा नंं. ३ का ती यात्रुहरुलाई ८ हजार रुपैंयामा नेपालगन्ज पुर्याईदिने शर्तमा लगिएको तिमध्ये एक यात्रुले बताएका छन् । वडाध्यक्ष देवी भण्डारीको सिफारिस पत्र यात्रुसँगै वडाध्यक्ष भण्डारीले १ जना बिरामी र ३ जना कुरुवासहित नेपालगन्ज उपचारमा जानुपर्ने भन्दै सिफारिस पत्र पनि दिएकी छिन् । (हेर्नुस सिफारिस पत्र) वडाध्यक्ष भण्डारीले बिरामी भएपछि नेपालगन्ज जानुपर्ने भएकाले एम्बुलेन्स चाहियो भनेर आएपछि अध्यक्ष प्रेमवहादुर वुढासँग सल्लाह लिई सिफारिस दिईएको बताईन् ।भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिं थापाले एम्बुलेन्स चालकलाई निर्देशन गर्दागर्दै पनि कमजोरी भएको स्वीकारेका छन् । उनले नेपालगन्जवाट केहि स्वास्थ्य सामग्री ल्याउनुपर्ने भएकाले एम्बुलेन्स पठाईएको जिकिर गरेका छन् । गाउँपालिकाका अध्यक्ष बुढाले वडाध्यक्षको विश्वासमा बिरामी भए सिफारिस दिने सल्लाह दिएको तर प्रहरीले व्यापारी रहेको जानकारी दिएपछि आश्चर्यमा परेकाले कमजोरी हुन पुगेको स्वीकार गरेका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बन्दाबन्दीको वेला एम्बुलेन्समा यात्रु वोकेर आएको हुँदा नियन्त्रण लिईएको र यस वारेमा गाउँपालिकालाई पत्र लेखि जवाफ माग्ने र त्यसपछि आवश्यक प्रक्रियामा जाने जानकारी दिए ।