रौतहट— नेपाल निर्माण व्यवसायी संघ रौतहटको ८औं साधारण सभा गौर नगरपालिका–५ स्थित होटल सिया प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि क्रियाशील संघले आफ्नो नियमित साधारण सभा आयोजना गर्दै व्यवसायीहरूको समसामयिक मुद्दा, निर्माण क्षेत्रको विकास तथा भविष्यका योजनाहरूमा छलफल गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश सांसद नागेन्द्र साह, निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष शम्भु ठाकुर, नेपाल निर्माण व्यवसायी संघ मधेश प्रदेशकी अध्यक्ष मुना चौधरी, महासंघका केन्द्रीय महासचिव रौशन दहाल, उपमहासचिव शिवहरी घिमिरे, उपमहासचिव सन्तोष साह, मधेश प्रदेश उपाध्यक्ष रामप्रसाद पटेल, प्रदेश महासचिव उपेन्द्र चौधरी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व प्रेमचन्द्र झा, प्रदेश सदस्य विकास विक्रम साहलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
साधारण सभामा निर्माण व्यवसायी संघ रौतहटका वरिष्ठ उपाध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष उपेन्द्र कुमार, क्षेत्रीय उपाध्यक्ष प्रमोद कुशवाह, कोषाध्यक्ष बिक्रान्त नेपाल, सचिव कल्याण कार्की, सदस्य दुर्गा यादवलगायत संघका अन्य पदाधिकारीहरू उपस्थित थिए । कार्यक्रममा संघका सदस्यहरू, जिल्लाका विभिन्न निर्माण व्यवसायी, सरकारी अधिकारी, पत्रकार तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष ई.कृष्णदेव यादवले निर्माण व्यवसायीहरूको योगदान, चुनौती र भविष्यका योजनाहरूबारे प्रकाश पार्दै संघको आगामी योजनाबारे जानकारी गराउनुभयो । उहाँले सरकारी निकायहरूसँग सहकार्य गर्दै निर्माण व्यवसायीहरूलाई थप व्यवस्थित र सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले देशभर निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न महासंघले सक्रिय भूमिका खेलिरहेको बताउँदै नीति निर्माण तहमा व्यवसायीहरूको अधिकार सुरक्षित गर्न पहल भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरूले सार्वजनिक निर्माण कार्यमा देखिएका समस्याहरू, ठेकेदारहरूका कठिनाइ, समयमै भुक्तानी नपाउने समस्या, ठेक्का प्रक्रियामा देखिएका जटिलता तथा सरकारी प्रशासनसँग सहकार्यका विषयमा विस्तृत छलफल गरेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात संघका कोषाध्यक्ष बिक्रान्त नेपालले स्वागत मन्तव्यबाट गरेका थिए । उनले संघको विगतका उपलब्धिहरू, हालका गतिविधिहरू र भविष्यमा गरिने कार्ययोजनाबारे जानकारी गराए । कार्यक्रमको सञ्चालन प्रविन टिबडेवालले गरेका थिए ।