रौतहट – माधवनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामदेनी मुखियाको शनिबार बिहान असामयिक निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका मुखियाको आज बिहान ७ बजे आफ्नै पैत्रिक निवास विशुनपूर्वा मानपुर गाउँमा निधन भएको परिवारले जनाएको छ।
वडाध्यक्ष मुखियाका छोरा राम कलेबर मुखियाका अनुसार विगत केही वर्षदेखि अस्वस्थ रहेका उहाँको विभिन्न अस्पतालमा उपचार भइरहेको थियो। परिवारले जति प्रयास गरे पनि अन्ततः उहाँलाई बचाउन सकेनन्।
रामदेनी मुखिया २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी)को तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। पार्टीका सक्रिय नेता रहेका मुखियाको निधनले माओवादी पार्टीलाई अपूरणीय क्षति पुगेको माओवादीका जिल्ला इन्चार्ज तथा संविधान सभा सदस्य अशोक जयसवालले बताएका छन्।
पार्टी तथा स्थानीय बासिन्दाहरूले वडाध्यक्ष मुखियाको निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।