रौतहट – चिसो मौसमका कारण समस्यामा परेका गरिब-विपन्न र आर्थिक अवस्था कमजोर नगरवासीहरूको सहयोगका लागि गरुडा नगरपालिकाले ब्ल्याङ्केट वितरण कार्यलाई निरन्तरता दिएको छ।
आज गरुडा नगरपालिका अन्तर्गत वडा नं ९ श्रीपुर र नरकटियामा ब्ल्याङ्केट वितरण गरिएको छ। नगरपालिकाका प्रतिनिधिहरूले उक्त क्षेत्रमा रहेका अति गरिब तथा विपन्न वर्गका व्यक्तिहरूलाई चिसोबाट जोगाउन यो सहयोग वितरण गरेका हुन्।
गरुडा नगरपालिका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले आगामी दिनमा अति गरिबहरूको लागि मापदण्ड बनाएर अन्य आवश्यक सहयोग कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको बताएको छ। यस कदमले स्थानीय गरिब वर्गको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
नगर प्रमुख जयसवालले विपन्न वर्गलाई यस्ता सहयोग कार्यक्रमले राहत पुर्याउने र चिसोको असरलाई कम गर्न मद्दत पुग्ने धारणा व्यक्त गरे। स्थानीयवासीले पनि यस्तो सहयोगात्मक पहलको प्रशंसा गरेका छन्।