रौतहट । रौतहटको सदरमुकाम गौरमा निर्माणाधीन घण्टाघरमा मधेसी शहीदहरूको सालिक स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट जनवर्गीय संगठनहरूले गौर नगरपालिका प्रमुख शम्भु साहलाई ज्ञापनपत्र बुझाएका छन् । समाजवादी युवा संघ नेपाल रौतहट र समाजवादी विद्यार्थी युनियनको नेतृत्वमा सो ज्ञापनपत्र गौर नगरपालिकाका मेयर शम्भु साहलाई हस्तान्तरण गरिएको हो ।
ज्ञापनपत्रमार्फत २०७२ सालको मधेसी आन्दोलनका क्रममा सहादत प्राप्त मधेसी शहीदहरूको सम्मानका लागि गौर नगरपालिकाको स्वामित्वमा रहेको घण्टाघरमा उनीहरूको सालिक निर्माण गर्न माग गरिएको छ । शहीदहरूको स्मृतिमा निर्माण गर्न प्रस्ताव गरिएका सालिकहरूमा स्व. राजकुशोर ठाकुर, शेख तवरेज आलम, शेख मैनुदिन, र विद्यानन्द यादवको नाम समावेश छ ।
ज्ञापनपत्र बुझाउने क्रममा समाजवादी युवा संघ नेपाल रौतहटका अध्यक्ष पुन प्रताप पटेल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव, समाजवादी दलित संघ नेपाल रौतहटका अध्यक्ष उदयनारायण राम लगायतका नेताहरू उपस्थित थिए ।
ज्ञापनपत्र बुझ्दै गौर नगरपालिका मेयर शम्भु साहले मधेसी शहीदहरूको सालिक स्थापनाको मागप्रति आफू सकारात्मक रहेको बताए । गौर नगरपालिकाका सबै नागरिकहरूको सम्मान र पहिचानसँग जोडिएको उल्लेख गर्दै आउँदो हप्तामा सर्वदलीय बैठक बोलाई सहमतिका आधारमा निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने शहीदहरूको बलिदानलाई सम्मान गर्नुपर्छ । नगरपालिकाका तर्फबाट हामी मागलाई गम्भीर रूपमा लिन्छौं र सबै पक्षहरूसँग छलफल गरी उचित निर्णय गर्छौं । २०७२ सालमा भएको मधेसी आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको झडपमा कैयौँ मधेसी नागरिकले ज्यान गुमाएका थिए । त्यस क्रममा गौरमा मात्र चार जना युवाहरूले सहादत प्राप्त गरेका थिए ।
मधेसी समुदायको पहिचान, समानता, तथा संघीय संरचनामा सहभागिताका लागि लडिएको आन्दोलनमा शहीद भएका व्यक्तिहरूलाई सम्मान गर्नुपर्ने माग निरन्तर उठ्दै आएको छ । मधेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत गद्दीले शहीदहरूलाई औपचारिक रूपमा शहीद घोषणा गरेका थिए । साथै उनीहरूको योगदानलाई सम्झन प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ ।