रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमंत्री एन पी साउदले तत्कालिन नेकपा एमाले र माओवादी (केन्द्र) को एकिकरण अप्राकृतिक भएकाले त्यसले नतिजा दिन नसकेको दावी गरेका छन् ।
रौतहटको चन्द्रनिगाहपुर स्थित होटल ए एन प्लाजामा सामाजिक अभियानता एवम् नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताको जीवनमा आधारित वृतचित्रको बिमोचन कार्यक्रम बोल्दै पूर्वमन्त्री साउदले नेपाली काँग्रेसले सुरुदेखिनै यी दुई पार्टीका बीच विचार र सिद्धान्तनै नमिलेकोले सो मिलन यात्रा लामो समयसम्म नटिक्ने भन्दै आएको र आज आएर सो सत्य सावित भएको बताए ।
उनले धेरै मानिसहरुले नेपाली काँग्रेसले दह्रोसँग प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लगाएपनि धेरै सरकार परिवर्तनबाट आजित भएका नेपाली जनतालाई कम्तिमा पाँच वर्षसम्म स्थायी सरकार पनि यो देशमा टिक्न सक्छ भन्ने विश्वास दिलाउन सयौँ कमिकमजोरीको वावजुद पनि सरकारलाई साथ दिएको दावी गर्दै नेकपाको आन्तरिक कलहले संसद विघटन भएको बताए ।
‘जसलाई जनताले जिताएर पठाए उनीहरुलाई देश चलाउन दिन्छौ हामी तगारो हाल्दैनौ बरु पाँच वर्ष कुछौँ भनेर भनेका थियौ ’ उनले भने , ‘नेपाली काँग्रेसले कुनैपनि दिन सदन अबरुद्ध गरेन, रेलिङ्ग भाँचेन सरकारलाई साथ दिइरह्यो । तर उनीहरु बीचकै आपसी लडाइले देश आजको अवस्थामा पुगेको छ ।’
प्रधानमन्त्री केपी ओली , पुष्पकमल दाहाल ‘प्रचण्ड’ , माधव कुमार नेपाल, झलनाथ खनाल , वामदेव गौतम बीचमा शक्ति, सत्ता र राजनितिक नियुक्तिकोे भागवण्डा नमिल्दा देश र जनताले दुःख पाएको उनको भनाइ थियो ।
सो कार्यक्रममा बोल्दै नितेश गुप्ताले आफु शारीरिक रुपले अपाङ्ग भएतापनि मानसिक रुपमा सदैव अब्बल रहेको भन्दै आफुले अपाङ्गताका वावजुद पनि संघर्ष पश्चात पाएको सफलता आफुजस्तै अरुको लागि पनि प्रेरण बनोस् भने वृतचित्र निर्माण गरिएको बताए ।
नेपाल सरकार समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग परिषद काठमाडौंका पूर्व सभापति समेत रहेका गुप्ता हाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटका सभापति रहेका छन । कार्यक्रममा सहभागीहरुले गुप्ताको वृतचित्र अपाङ्गता व्यक्तिहरुको लागि प्रेरण अनि साहस बन्न सक्नेमा विश्वास व्यक्त गरेका थिए ।न्युज२४