जनकपुर । डेढ महिनापछि सुरु हुन लागेको प्रदेश २ को प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध भएको छ । सोमबार बसेको प्रदेशसभा बैठक सत्तापक्षकै अवरोधका कारण स्थगन भएको थियो ।
मंगलबार पनि विपक्षी दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र सत्तारुढ राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।
गत आवमा प्रदेशका सांसदहरूले उपभोक्ता समितिमार्फत सञ्चालन गरेका करिब ७ सय योजनाको ९१ करोड रुपैयाँ भुक्तानी नभएसम्म सदन चल्न नदिने भन्दै विपक्षी कांग्रेस, नेकपा र सत्तारुढ दल राजपाकै सांसद उपेन्द्र महतो र विक्की यादवले बैठक अवरुद्ध गरेका थिए ।
संसद अवरुद्ध भएपछि बाहिर निस्किएका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायमाथि कांग्रेसकी सांसद प्रमिला दासले हातपात गरेकी छन् । सबै सांसद बाहिर निस्किएपछि मन्त्री पनि उभिएका थिए । सांसदहरु आ-आफ्नो गन्त्वयमा जाने क्रममा राजपाका सांसदले ‘मन्त्रीकै कारण ७ सय योजनाको भुक्तानी रोकिएको’ प्रतिक्रिया दिए । यस्तै कांग्रेस सांसद प्रमोद यादवले यस्ता मन्त्रीलाई ‘छाड्नु हुन्नं’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यही क्रममा कांग्रेस सांसद प्रमिला दासले मन्त्रीमाथि हातपात गरेकी हुन् ।
हातपातपछि प्रहरी आएर विवाद साम्य पार्ने प्रयास गरेका थिए । मन्त्री रायले संसदको गरिमा नै गिर्ने गरी आफूमाथि हातपात भएको बताएका छन् । उनले भने, “राजपाले नियोजित रुपमा ममाथि आक्रमण गर्न लगायो । ”एक महिला सांसदले गरिमा नै गिर्ने गरी ममाथि हातपात गर्नुभयो । यदि यहाँ महिला मन्त्रीमाथि पुरुष सांसदले हातपात गरेको भए के हुन्थ्यो ? बाह्रखरी