रौतहट । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी हत्या गरिएको हो ।
सिमावर्ती भारत बिहार घोडाशहन थानाक्षेत्र अन्तरगत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा साहको कन्चटमा गोलाी हानी हत्या भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको प्रवक्ता श्रेष्ठले बताए । हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।
उता इशनाथ नगरपालिका औरैया गाउँका पत्रकार किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको बताएका छन । मृतक साहको घिउरा गाउँका सम्पन्नशाली परिवारका हुन् ।
भारतीय सिमानासँगै जोडिएको गाउँ घिउराका अधिकांश परिवार वैदेशिक रोजगार तथा भारतको विभिन्न सहरबाट कमाएर ल्याएको पैसा ब्याजमा लगानी गर्ने गर्थे ।
साह एकजना आफन्तको माध्यमले भारत ढाका थानाक्षेत्र अन्तरगत पर्सा गाउँमा एकजनालाई पैसा लगानी गरेका थिए । ३६ लाख नेपाली रुपैयाँ साहले भारतीय नागरिकसँग लिनुपर्नेमा २ लाख घटाएर ३४ लाखमा ४ दिनअघि सहमति भएको थियो ।
आइतबार अपरान्ह सोही रकम लिन भारतीय नागरिकले साहलाई फोन गरेर आफ्नो गाउँ भारतको पर्सा बोलाएका थिए । रकम लिन पर्सा गाउँ गएका साहको शव सोमबार लैन बंसवरिया गाउँ छेउमा बेवारिसे फेला पर्दा घिउराका एकजना गाउँलेले अपरान्हतिर पहिचान गरेका थिए ।
३४ लाख ठूलो धनराशी भएकाले भारतीय नागरिकले पैसा नदिने मनसायले कुनै अपराधीद्वारा साहको हत्या गराएको हुनसक्ने सम्भावना रहेको पत्रकार यादवले बताए ।
भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबहाी गर्न पीडित परिवारले माग गरेका छन् । यसअघि रौतहटमा १५ दिनभित्र अन्य ४ जनाको हत्या भएको छ ।रातोपाटी