रौतहट १२ भदौ ।। प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री माननीय जितेन्द्र सोनल शुक्रबार जलेश्वर अस्पतालको निरिक्षण भ्रमण गर्नुभएको छ । उहाँसंगै भ्रमण टोलीमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सामाजिक विकास राज्यमन्त्री माननीय अभिराम शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र शाहीजी, जलेश्वर नगरपालिका वडानं. ४ का वडाध्यक्ष लोकेन्द्र लाल कर्णसहित पूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरु रहनुभएको थियो । उहाँहरुलाई जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय , अस्पतालका मे.सु.डा.राजीव कुमार झा सहितका पदाधिकारीहरुले स्वागतसहित जलेश्वर अस्पतालको कोरोना विशेष अस्पताल तथा अन्य फाँटहरुमा भइरहेको काम, निर्माणका काम तथा समस्याहरुबारे अवगत गराउनुका साथसाथै अस्पतालको निरिक्षण गराउनुभएको थियो । अस्पतालको निरिक्षणपश्चात भौतिक पूर्वाधार मन्त्री माननीय जितेन्द्र सोनलले कोरोना विशेष अस्पतालको सेवासहित अन्य सेवाहरु सुचारु राखेकोमा खुशी व्यक्त गर्नुहुदै सञ्चालन समितिका अध्यक्षसहित पदाधिकारी तथा मे.सु.सहितका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले आफुबाट हुन सक्ने प्रयासहरु गर्ने आश्वासन दिनुहुदै यसरी नै अगाडी जान अस्पताल सञ्चालन समितिलाई निर्देश गर्नुभएको थियो ।