ज्यान मार्ने तथा बम विष्फोटक पदार्थ सम्बन्धमा दुई जना पक्राउ

1404

रौतहट । करिब १० वर्षअघि यात्रुबाहक बसमा बम पडकाएर फरार रहेकाहरूमध्ये २ जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको टोलीले बम विस्फोट तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुईजना अभियुक्तलाई इशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ ।

२०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए ।

विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।