रौतहट, ६ असार । घरमै आफ्ना छोराछोरी सँग रहेकी महिलालाई गए राति अपहरण गरेर लाने प्रयास भएको छ ।
रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गए राति ९ बजे चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेका हुन । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए ।” पीडित महिलाले भनिन “चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिर्सान थाले पछि गुहार माग्दै धेरै बेर कराए । होहल्ला सुनेर छिमेकीहरु आए पछि चारै जना भागे ।” जबरजस्ती घिर्सान थाले पछि उनी बेहोस भएर लडेकी थिइन ।
घटना पछि गौर अस्पतालमा उपचारका क्रममा रहेकी ३५ वर्षिया महिलाको शरीरका विभिन्न भागमा चिथोरेको घाउदाग रहेको छ । अपहरण गर्न आएका अजय सहनी, राकेश सहनी, राजा सहनी र ज्योती सहनी रहेको महिलाको दाबी छ । चार मध्ये तिन जना गरुडा नगरपालिकाको र एक जना गढीमाई नगरपालिकाको रहेका छन ।
घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खडकाले अनुसन्धान भइरहेको बताएका छन । “घटनाको रिपोर्ट आएको छ । घटनाका बारेमा विस्तृत बुझ्ने काम भएको छ ।” उपरिक्षक खडकाले भने “यस विषयमा हामी गम्भीर भएर अगाडी बढी रहेका छौं । घटनामा सँलग्नहरु चाडै नियन्त्रणमा हुनेछन ।”
लकडाउनको अवधिमा रौतहटमा महिला उपरका हिंसाहरु वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
द नेपाल टाइम्स सभार गरेको छ ।