सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्चको विवरण सार्वजनिक

1096

काठमाडौं, ३१ बैशाख । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गरेको खर्चको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार कोरोना नियन्त्रणमा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार कूल खर्च भएको देखिएको छ ।

सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएकाे भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत् खर्चको विवरण सार्वजनिक गरेका हुन् ।

संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेनटाइन र अन्यमा ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको बताइएको छ ।

प्रदेश सरकारहरुले १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च गरेको पनि खर्च विवरणमा उल्लेख गरिएको छ ।

स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरण छ ।

कोरोना नियन्त्रणका लागि बनाइएको सरकारी कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ ।

यसअघि सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि १० अर्ब रुपैयाँ बराबर खर्च भएको सार्वजनिक गरेको थियो । १० अर्ब खर्च भएको सार्वजनिक भएपछि सडकदेखि सदनसम्म १० अर्ब कहाँ कहाँ खर्च भयो भनेर प्रश्न गर्न थालिएको थियो ।

यस्तो छ सार्वजनिक भएको खर्च विवरणः

साभर गरेका sajhapost