दिलीप पाण्डे रौतहट । रौतहटको पहिलो पालिका राजपुर नगरपालिकाले नवौं नगरसभा आईतबार नगर सभाहलमा सम्पन्न भएको छ । सभामा नगर प्रमुख डा. राजिक आलमले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५७ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
नगर प्रमुख आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरे । नीति कार्यक्रममा समावेशी विकास, वातावरण संरक्षण, महिला सशक्तिकरण, युवा तथा कृषक लक्षित कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन र डिजिटल प्रशासनको प्रारम्भ लगायतका बुँदाहरू समेटिएका छन् ।
उहाँले कार्तिक मसान्तसम्म १५ शैयाको नगर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने योजना पनि घोषणा गरेका छन । त्यस्तै बिरामीसँग मेयर, जेष्ठ नागरिकसँग मेयर, शैक्षिक प्रतियोगिता, बालश्रम न्यूनीकरण तथा बालविवाहमुक्त नगरपालिका निर्माण जस्ता कार्यक्रम पनि नीति कार्यक्रममा समावेश छन् ।
सभामा उपमेयर श्रीमति जमिला असगरि, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, लेखा अधिकृत मनोज कर्न , प्रशासन शाखा प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दाहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । नगर प्रमुख आलमले जनताको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी पारदर्शी तथा जवाफदेही प्रशासन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।