यमुनामाई गाउँपालिकाको वडा सदस्य मुखिया १३ हजार घुस सहित पक्राउ

1805

रौतहट, ९ चैत । नागरिकताको प्रतिलिपिमा सिफारिस गर्न १३ हजार घुस लिइरहेको अवस्थामा यमुनामाई गाउँपालिका वडा नम्वर ३ का सदस्य सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतवार पक्राउ गरेको छ ।

यमुनामाई गाउपालिका वडा नम्वर ३ का एकजना जनताको नागरिकताको प्रतिलिपिमा सिफारिस गर्न १३ हजार रकम माग गरेको सोही अनुरुप वडा सदस्य रामविश्वास मुखिया र निर्गुन पासवानलाई दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ४ मा लिदै गरेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दीवासको टोलीले घुस सहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले रकम लिइरहेको अवस्थामा दुवै जना मध्ये पासवानलाई समातेपनि वडा सदस्य मुखिया भागेर यमुनामाई १ को शुकदेव चोकमा पुग्दा उनलाई शुकदेव चोकमा नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानको लागि बर्दीवास लगिएको अख्तियार श्रोतबाट बुझिएको छ ।