१९ लाख घुससहित ३ जना इन्जिनियर अख्तियारको फन्दामा

1399

सिरहा ।। सिरहाबाट करिब १८ लाख ९६ हजार रुपैयाँ घुससहित तीन इन्जिनियर पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले शुक्रबार साँझ लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इन्जिनियर विनोद साहलाई ३ लाख र इन्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरेको हो।

निमित्त प्रमुख सिभिल इन्जिनियर विनोद साहलाई ३ लाख घुससहित कार्यालयको एकठाउँबाट, नवीन साह र विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकम सहित कार्यालयकै अर्को ठाउँबाट पक्राउ गरेको टोलीले जनाएको छ।

रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका लागि ठेकेदारसँग घुस मागेका थिए। अख्तियारले पाएको पूर्व जानकारी अनुसार घुस लिएकै बेला तीनैजनालाई अख्तियारले पक्राउ गरेको हो।

तीनैजनामाथि थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐन अनुसार उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। टोलीका अनुसार पक्राउ परेका तीनैजनालाई बर्दिबास ल्याइँदैछ।नेपालखबर