नयाँ दिल्ली । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको क्याम्पभित्र गोली चलेको हो ।
बुधबार बिहान स्थानीय समयअनुसार करिब ९ बजे उक्त घटना भएको बताइएको छ । सुरक्षाकर्मीबीच आपसमै गोलीबारी हुनुको कारण पत्ता लाग्न नसकेको जनाइएको छ ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बटालियनमा आपसी विवादका कारण एक जवानले स्वचालित हतियारबाट आफ्नै सहकर्मीमाथि अन्दाधुन्द गोली चलाएका थिए ।
गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । हमलाकारी ती जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेको बताइएको छ ।
आफ्नै सहकर्मीको हत्यापछि आत्महत्या गर्ने जवानको पहिचान खुलाइएको छैन । यद्यपि सामाजिक सञ्जालमा स्थानीय स्रोतलाई उद्धृत गर्दै जनाइएअनुसार ४५ औं बटालियनका मुसुदुल रहमानले पाँच सहकर्मीको हत्यापछि आत्महत्या गरेका हुन् ।
गोली लागेर दुई जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।रातोपाटी