विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानमै हुने पक्का

1665
नेपाली फुटबल टिम फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ ।

मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।

योसँगै एन्फाले आफ्नो होम खेल घरेलु मैदानमा खेल्न पाउने खेल न्युट्रल भेन्यु तेस्रो रंगशालामा खेल्नु पर्ने भएको थियो । एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।

कुबेतले यो प्रस्तावलाई अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो । एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै खेल हुन लागेको हो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।