रौतहट । रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याङ्की प्राङ्गणमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविर भव्य रूपमा सम्पन्न भएको छ । नेपाली सेना श्री वीरदल गण रौतहटको अगुवाइमा तथा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा दृष्टिदोष आँखामा संक्रमण रतन्दो रातो आँखा तथा मोतियाबिन्दु जस्ता समस्याबाट पीडित स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
स्वास्थ्य सेवा सबै नागरिकसम्म पु¥याउने उद्देश्यसहित माघ २१ देखि ३० गतेसम्म सञ्चालन गरिएको शिविरमा सयौं स्थानीय नागरिकले निःशुल्क उपचार तथा शल्यक्रिया सेवा प्राप्त गरेका थिए । राजपुर नगरपालिकाका नगर प्रमुख राजिक आलमलाई कदरपत्र प्रदान गरी विशेष सम्मान गरिएको छ ।
नगर प्रमुख आलमको विशेष पहल र सहयोगका कारण शिविर सफल हुन सकेको भन्दै नेपाली सेनाले उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो । नेपाली सेना श्री वीरदल गण रौतहटका प्रमुख सेनानी किसोर अधिकारीले नगर प्रमुख आलमलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
नगर प्रमुख आलमले शिविर सफल बनाउन पुर्याएको योगदानप्रति नेपाली सेनाले उच्च सम्मान व्यक्त गर्दै स्थानीय सरकार र संघीय निकायबीचको सहकार्यले जनतालाई प्रत्यक्ष रूपमा फाइदा पु¥याउने विश्वास व्यक्त गरे । सम्मान ग्रहण गर्दै नगर प्रमुख आलमले भने राजपुर नगरपालिका स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । आगामी दिनहरूमा पनि जनताको हितमा यस्ता शिविरहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौं ।
शिविर अवधिभर दृष्टि परीक्षण औषधि वितरण, आँखाको संक्रमण उपचार, मोतियाबिन्दुको पहिचान तथा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा स्थानिय वासिन्दा, वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिहरू विशेष रूपमा लाभान्वित भए ।
शिविरमा सहभागी भएका मुकेश यादबले भने हामीले निःशुल्क सेवा पाउने आशा गरेका थिएनौं । आँखाको समस्या लामो समयदेखि थियो अब उपचारपछि सहज महसुस भइरहेको छ । नेपाली सेना नगरपालिकाका प्रमुख आलम र शिविर सञ्चालन गर्ने सम्पूर्ण चिकित्सकलाई धन्यवाद दिन चाहन्छु ।
नगरपालिकाको सहकार्यमा सम्पन्न शिविरले स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका उजागर गरेको छ । नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकता दिँदै भविष्यमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्न निरन्तर प्रयास गरिने नगर प्रमुख आलमले प्रतिबद्धता जनाएको छ ।
त्यस्तै परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल र कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाललाई सम्मान गरेको छ ।