रौतहटमा तीन वर्षपछि छैठौं जिल्ला सभा सम्पन्न

72

रौतहट । रौतहट जिल्लाको छैठौं जिल्ला सभा तीन वर्षपछि आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त सभा जिल्ला समन्वय समितिका प्रमुख एवं सभाअध्यक्ष राम अयोध्या राय यादवको अध्यक्षतामा बसेको थियो ।
सभाको सुरुवातमा सभाअध्यक्ष यादवले मन्तव्य दिँदै नीति, नियम तथा कार्यक्रम प्रस्तुत गर्न जिल्ला समन्वय अधिकारी अमित कुमार यादवलाई अनुरोध गर्नुभयो । उहाँले सातवटा एजेन्डासहित नीति तथा कार्यक्रम वाचन गर्दै बैठकका कार्यसूची प्रस्तुत गर्नुभयो ।

सभामा सहभागी १८ वटै स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरूले आ–आफ्नो धारणा राख्दै एजेन्डामाथि छलफल गरेका थिए । अन्ततः सबै एजेन्डा बहुमतले पारित भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

पारित मुख्य निर्णयहरूमध्ये प्रमुख रूपमा जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि, २०८२,नदिजन्य पदार्थ उत्खनन, संकलन, विक्रि तथा वितरण सम्बन्धी कार्यविधि, २०८२,१८ वटै पालिकाको सहमतिमा समिति प्रयोजनको लागि सवारीसाधन (गाडी) खरिद गर्ने प्रस्ताव,आगामी आर्थिक वर्ष २०८२/८३ देखि मौज्दात कोष सञ्चालन गर्ने प्रस्ताव,समितिलाई प्राप्त बजेट शीर्षकअनुसार खर्च गर्न स्वीकृति,अनुगमनका क्रममा देखिएका अनियमितता र कैफियतहरूमा सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गर्ने प्रस्ताव पेश गरेको छ ।
जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले सभाअध्यक्षको तर्फबाट सम्पूर्ण एजेन्डा प्रस्तुत गर्दै सभामा निर्णय गराउन सहजीकरण गर्नुभएको थियो ।

जिल्ला सभाका सचिव यादवका अनुसार कानुन बमोजिम प्रत्येक आर्थिक वर्षमा जिल्ला सभा बस्नुपर्ने व्यवस्था छ । यद्यपि विभिन्न कारणले विगत तीन वर्षदेखि सभा हुन सकेको थिएन । यसपटकको सभा सम्पन्न हुनु र बहुमतले नीति तथा कार्यक्रम पारित हुनु जिल्लाका लागि सकारात्मक कदम भएको बताइएको छ ।