गौरमा स्रोत नखुलेको नगदसहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

127

रौतहट, असार १८ — रौतहटको गौरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउत रहेको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार राउतलाई गौर भन्सार कार्यालय अगाडिको क्षेत्रबाट चेकजाँचको क्रममा पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल नम्बर ११ गणको टोलीले चेकजाँच गर्दा राउतले हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको २ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको हो।

स्रोत नखुलेको सो नगदसहित राउतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।