ईशनाथ नगरपालिकामा चौतर्फी विकास र सुशासनको अनुभूति

59

रौतहट, असार १६ । मधेश प्रदेशको सीमावर्ती क्षेत्र रौतहट जिल्लामा अवस्थित ईशनाथ नगरपालिकाले पछिल्लो समय चौतर्फी विकासका गतिविधिहरूले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा २०८१ साल भदौ १७ गते नियुक्त भएका नन्दकिशोर गुप्ताको नेतृत्वमा पालिकामा समावेशी विकास, पारदर्शिता र प्रशासनिक सुशासनलाई प्राथमिकता दिइएको स्थानीयहरू बताउँछन्।

गुप्ताको नेतृत्वपछि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाइ, खानेपानी र ऊर्जा क्षेत्रमा योजनाबद्ध कामहरू अघि बढेका छन्। विद्यालय भवन निर्माण, शौचालय मर्मत, दिवा खाजा कार्यक्रम र पठनपाठन प्रवर्द्धनका कारण शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। साथै, स्वास्थ्य सेवा विस्तार, कृषि यान्त्रीकरण, स्वच्छ पानीका लागि ८० वटा हैण्डपाइप जडान, तथा ढल निकास व्यवस्थापनजस्ता कार्यहरूले जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ।

यस आर्थिक वर्षमा पालिकाले २.५ किलोमिटर सडक ढलान, ४ किलोमिटर ग्रेभल बाटो, २ किलोमिटर नाला निर्माण, १० वटा मठमन्दिर निर्माण, ६ वटा छठघाट सौन्दर्यकरण, १ सामुदायिक भवन, ४० वटा कृषकका लागि बोरिङ, १०५ थान कृषि पोल वितरण, ८० हैण्डपाइप जडान र ७ वटा स्थानमा ट्रान्सफरमर जडानजस्ता काम सम्पन्न गरिसकेको वा निर्माण प्रक्रियामा रहेको जनाएको छ।

धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने ईशनाथ नगरपालिका बिहारको चैनपुर र घोडासहन बजारसँग सीमा जोडिएको भूभाग हो। पालिकाको नाम पनि यहाँको ऐतिहासिक ईशनाथ गुठ्ठीमठ र महादेव मन्दिरबाट राखिएको हो। सांस्कृतिक सम्पदाको संरक्षणलाई समेत पालिकाले विकाससँगै जोडेको छ।

प्रमुख प्रशासकीय अधिकृत गुप्ताले स्थानीय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी र समुदायसँग सहकार्यलाई प्राथमिकता दिँदै समन्वयकारी प्रशासनिक नेतृत्वको अभ्यास गर्दै आएका छन्। “ईशनाथ मेरो लागि कार्यालय मात्र होइन, जन्मथलो पनि हो,” उनले भने, “जनताको विश्वास र मेयर कौशल्या देवी सिन्हाको सक्रिय सहयोग नै मेरो ऊर्जा हो।”

यद्यपि, केही व्यक्तिबाट आलोचना पनि भएको छ। तर गुप्ताले त्यसलाई विकास विरोधी मानसिकताको रूपमा खारेज गर्दै सहकार्य र पारदर्शितामार्फत अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

पालिकाको ११ औं नगरसभा पनि कुनै विवाद वा अवरोधबिना सफलतापूर्वक सम्पन्न हुनु प्रशासनिक समन्वय र जनप्रतिनिधिहरूको सहभागिताको प्रमाण भएको बताइएको छ।

स्थानीयवासीहरूका अनुसार ईशनाथ नगरपालिका समावेशी विकास, सुशासन र नेतृत्वदायी पारदर्शिताको उदाहरणका रूपमा अघि बढिरहेको छ। प्रशासक गुप्ताको सक्रियता र समर्पणले निकट भविष्यमा ईशनाथलाई मधेशकै नमुना नगरपालिका बनाउने अपेक्षा गरिएको छ।