रौतहटको चन्द्रपुरमा कारले मोटरसाइकललाई ठक्कर, बुबा–छोरीको मृत्यु

181

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरमा आइतबार बिहान भएको सवारी दुर्घटनामा बुबा–छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा सवार बलिराम सहनीकी छोरी ४० वर्षीया उर्मिला देवी सहनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

दुर्घटनापछि कार र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।