दिलीप पाण्डे रौतहट । मधेश प्रदेश सरकारले “सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार भन्ने नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२४ विशेष कार्यक्रम आयोजना गरेको छ । गौर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको संयुक्त पहलमा रैली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूले सुरक्षित आप्रवासनको आवश्यकता र प्रवासी कामदारहरूको हकहित संरक्षणबारे जनचेतना फैलाउन नगरको विभिन्न ठाउँमा रैली गरेका थिए । रैली गौर नगरपालिका कार्यालयबाट सुरु भई बी.पी. चौकसम्म पुगेको थियो । कार्यक्रममा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेश सरकार, र स्थानीय निकायहरूको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आप्रवासी कामदारहरूका समस्या समाधानका लागि सूचनाको पहुँच, सीप विकास, र श्रम अधिकारको संरक्षणमा जोड दिएका थिए । स्थानीय अधिकारीहरूले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि सरकारको तर्फबाट चालिएका कदमहरूबारे जानकारी गराउँदै भने, “सूचना र सीप बिना गरिने आप्रवासनले कामदारहरूलाई जोखिममा पार्न सक्छ । यसलाई रोक्न जनचेतना अत्यावश्यक रहेको बताए । कार्यक्रममा महिला तथा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको थियो । रैलीपछि दीप प्रज्वलन कार्यक्रममार्फत आप्रवासी कामदारहरूको हकहित र सुरक्षित आप्रवासनका लागि प्रतिबद्धता जनाइएको थियो ।
कार्यक्रमको समापनमा आयोजकहरूले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।