दिलीप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिकाले महिलाहरुको स्वास्थ्य परीक्षण र उपचार सेवामा सुधार ल्याउने उद्देश्यले गर्भवती महिला तथा पाठेघरसम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि अल्ट्रासाउन्ड र थर्मोकोजुलेटर मशिन हस्तान्तरण गरेको छ । नगर प्रमुख शम्भु साहले एक विशेष कार्यक्रमका बीच अत्याधुनिक उपकरणहरू स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका हुन् । विशेष कार्यक्रममा बोल्दै नगर प्रमुख साहले नगरका महिलाहरूको स्वास्थ्य सुधारका लागि नगरपालिकाले निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको र यस किसिमको पहलले महिलाहरूको स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले भने गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउन्ड मशिन र पाठेघरको मुखको क्यान्सर कारक ब्याक्टेरिया नष्ट गर्नका लागि थर्मोकोजुलेटर मशिन प्रदान गरिएपछि नगरका महिलाहरूलाई समयमै स्वास्थ्य समस्या पहिचान र उपचारमा सहजता हुनेछ ।
नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत प्रदान गरेको उपकरणहरू तालिम प्राप्त नर्सिंग स्टाफ सबनम खातुनलाई हस्तान्तरण गरिएको हो । खातुनले गर्भवती महिला र अन्य महिलाहरूको स्वास्थ्य परीक्षण तथा उपचारमा उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । उपकरणको माध्यमबाट महिलाहरूको स्वास्थ्य समस्या पहिचान गर्न र उपचार गर्न निकै सहज हुनेछ खातुनले भनिन् । नगरपालिकाले हरेक वडामा मोबाइल स्वास्थ्य टोली परिचालन गरी उपकरणहरूको उपयोग गर्ने योजना बनाएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक दिनबन्धु यादवका अनुसार स्वास्थ्य टोलीले महिलाहरूको स्वास्थ्य परीक्षणका लागि वडास्तरमा नै सेवा प्रदान गर्नेछ । महिलाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपकरणको उपयोग गरिनेछ । ग्रामीण क्षेत्रमा पनि महिलाहरूले विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् यादवले भने ।
नगरपालिकाले महिलाहरूका लागि वडास्तरमा वीआईए (एसिटिक एसिड के साथ दृश्य निरीक्षण स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने योजना बनाएको छ । वीआईए स्क्रिनिङ प्रक्रियामा महिलाको पाठेघरको मुखमा रहेका क्यान्सर कारक ब्याक्टेरियाको पहिचान गरिनेछ । परीक्षणपछि यदि क्यान्सर कारक ब्याक्टेरिया फेला परेमा थर्मोकोजुलेशन प्रविधिको माध्यमबाट तिनीहरूलाई नष्ट गरिनेछ । थर्मोकोजुलेटरले पाठेघरको मुखको असामान्य कोषहरूलाई तताएर नष्ट गर्नेछ जसले गर्दा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुनेछ ।
स्वास्थ्य संयोजक यादवले भने थर्मोकोजुलेशन प्रविधि एक नवीनतम र प्रभावकारी विधि हो जसले महिलाहरूको पाठेघरसम्बन्धी समस्याको उपचार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । नगरपालिकाले प्रविधि भित्र्याएर महिलाहरूको स्वास्थ्य सुधारमा ठूलो कदम चालेको छ । गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षणका लागि उपलब्ध गराइएको अल्ट्रासाउन्ड मशिनले गर्भमा रहेको शिशुको विकास र अवस्था हेर्न मद्दत गर्नेछ । गर्भावस्थामा देखापर्ने जटिलताहरू समयमै पहिचान गरी आवश्यक उपचार गर्न सकिनेछ । नगरपालिकाले स्वास्थ्य परीक्षणपछि फेला परेका समस्याहरूको समाधानका लागि विशेषज्ञ चिकित्सकहरूको सहयोगमा उपचार सेवा प्रदान गर्ने योजना बनाएको छ ।
नगर प्रमुख साहले महिलाहरूका लागि प्रदान गरिएका स्वास्थ्य उपकरणहरूका कारण गौर नगरपालिकामा महिलाहरूको स्वास्थ्य सूचकांकमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे । उनले भने स्वास्थ्य उपकरणहरूको अभावका कारण महिलाहरूको स्वास्थ्य परीक्षणमा समस्या भइरहन्थ्यो । एएनसी र पीएनसी सेवामा गुणस्तरीय र प्रभावकारी सेवा पाए पछिउल्लेख्य रूपमा रेकर्डिङ रिपोर्टिङको स्थितिमा वृद्धि हुनेछ । अब नगरपालिकाले उपकरणहरू हस्तान्तरण गरेपछि महिलाहरूको स्वास्थ्य परीक्षण र उपचारमा सहजता आउनेछ । नगर प्रमुख साहले नगरपालिकाले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको र आगामी दिनमा थप अत्याधुनिक उपकरणहरू भित्र्याउने तयारी भइरहेको जानकारी दिए ।