दिलीप पाण्डे रौतहट । हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने विश्व क्षयरोग दिवस यस वर्ष रौतहटमा भव्य रूपमा सम्पन्न भएको छ । “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौंः लगानीको प्रतिबद्धता र सेवाप्रवाहको सुनिश्चितता, आजको आवश्यकता“ भन्ने मुल नाराका साथ नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहट तथा स्वास्थ्य कार्यालय रौतहट गौरको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
सोमवार बिहान रौतहटको सदरमुकाम गौरमा प्रभातफेरीे आयोजना गरिएको थियो । त्यसपछि स्वास्थ्य कार्यालय रौतहटको सभाहलमा डा.रोबर्ट कोचको तस्बिरमा फुलमाला अर्पण गर्दै क्षयरोगसम्बन्धी वत्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो ।
वत्तृत्वकला प्रतियोगितामा एच.ए दोस्रो वर्षमा अध्ययनरत रितिका श्रीवास्तवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरिन् । त्यस्तै नन्दनी साह दोस्रो स्थानमा र पवन गुप्ताले तेस्रो स्थान हासिल गरे । विजयी सहभागीहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालय रौतहटका क्षयरोग फोकल पर्सन राजकुमार साहले जानकारी दिए ।
क्षयरोगविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सरल र सहज उपचारको प्रबन्ध गराउने उद्देश्यका साथ मनाइएको दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता प्रयास तथा उपलब्धिहरूलाई सम्झाउने अवसर प्रदान गरेको आयोजक पक्षले जनाएको छ ।