उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी

77

दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। शनिबार पत्रकारहरूसँगको विशेष अन्तरक्रियाका क्रममा मेयर पटेलले उप-सचिव भुजेलको नेतृत्वमा बृन्दावन नगरपालिकाले प्रशासनिक र विकासका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए।
मेयर पटेलका अनुसार नगरपालिकामा विगतका वर्षहरूमा कुशल र अनुभवी प्रशासकको अभावका कारण समग्र विकासका काममा अवरोध आएको थियो। नीति निर्माणका क्रममा विभिन्न कठिनाइहरूको सामना गर्नुपरेको, योजना कार्यान्वयनमा ढिलासुस्ती भएको र जनताले गुणस्तरीय सेवा लिन नसकेको अवस्थाबाट अहिले नगरपालिकाले मुक्ति पाएको छ। पटेलले भुजेलको नेतृत्वमा नगरपालिकाले नयाँ गति लिएको र समग्र विकास योजनाहरू प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गरे।

मेयर पटेलले विगतमा नगरपालिकामा कुशल प्रशासकको अभावका कारण नीति निर्माणमा समस्या आएको उल्लेख गरे। “विगतमा भिजन भएका दक्ष, विज्ञ तथा अनुभवी प्रशासकको अभावका कारण नगरको समग्र विकासमा अवरोध आएको थियो। विभिन्न नीति नियम बनाउन धेरै कठिनाइको सामना गर्नुपरेको थियो। विकास निर्माणका काममा ढिलाइ हुने, सेवाप्रवाहमा अव्यवस्था हुनेजस्ता समस्याहरू व्याप्त थिए। तर अहिले उप-सचिव दर्जाको अनुभवी, दक्ष राष्ट्रसेवक कर्मचारी भुजेललाई मन्त्रालयले पठाएपछि नगरपालिकाले ठूलो राहत पाएको छ,” मेयर पटेलले भने।
उनले थपे, “विभिन्न लोभ-लालचले हो कि के हो, थाहा भएन। रौतहट जिल्लाका विभिन्न पालिकाका मेयरहरूले सुब्बा देखि शिक्षा, स्वास्थ्यका कर्मचारी र आफ्ना आफन्तलाई निमित्त हाकिम बनाईराखेका छन्। तर हामी कानुन बमोजिम उप-सचिव स्तरको हाकिम ल्याएका छौँ। अहिले नगरपालिकाको प्रशासन उप-सचिवको हातमा चल्दै छ। विकास निर्माणले गति लिएको छ। नीति निर्माणदेखि दीर्घकालीन भिजनसम्म नगरपालिकाले अब स्पष्ट मार्गचित्र तय गरेको छ।”
मेयर पटेलका अनुसार उप-सचिव भुजेलको आगमनपछि नगरपालिकाले विकास निर्माणका कामहरूमा उल्लेखनीय प्रगति गरेको छ। विगतमा रोकिएका परियोजनाहरू पुनः सञ्चालनमा आएका छन्। स्थानीय जनतासँग समन्वय गरेर योजना बनाउने र कार्यान्वयन गर्ने कामले गति लिएको छ। पटेलले भने, “भुजेलको नेतृत्वमा अहिले नगरपालिकाले सेवा प्रवाह व्यवस्थित भएको छ। स्थानीय जनताले प्रत्यक्ष रूपमा सहज सेवा पाएका छन्। अब बृन्दावन नगरपालिकाले विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गरेको छ।”
मेयर पटेलले भुजेलसँग स्थानीय जनतासँग समन्वय गरेर योजनाहरू कार्यान्वयन गर्न सक्ने नेतृत्व क्षमता रहेको बताए। “उहाँले नगरपालिकाले दिंदै आएका सेवा प्रवाहलाई व्यवस्थित ढंगले अगाडि बढाइरहनु भएको छ। स्थानीय जनताका समस्या समाधानमा उहाँले देखाएको तत्परताले जनतामा भरोसा बढेको छ। प्रशासनिक कार्यमा पारदर्शिता र जवाफदेहिता कायम गरिएको छ। स्थानीय जनताले सहज रूपमा सेवा पाउन थालेका छन्,” पटेलले भने।
मेयर पटेलले संघीय सरकारलाई बृन्दावन नगरपालिकामा प्रशासनिक स्थायित्व कायम राख्न र विकास योजनाहरूलाई दिगो रूपमा कार्यान्वयन गर्न भुजेललाई निरन्तरता दिन आग्रह गरे। “भुजेलको नेतृत्वमा नगरपालिकाले नयाँ दिशा लिएको छ। उहाँको अनुभव र प्रशासनिक दक्षताको फाइदा नगरपालिकाले प्रत्यक्ष रूपमा पाएको छ। उहाँको निरन्तरता सुनिश्चित गरिए नगरपालिकाले अझ राम्रो प्रगति गर्नेछ। विकास योजनाहरूले दीर्घकालीन सफलता पाउनेछन्। संघीय सरकारले अनुभवी प्रशासकलाई निरन्तरता दिनुपर्छ,” पटेलले जोड दिए।
स्थानीय जनताले पनि उप-सचिव भुजेलको नेतृत्वमा नगरपालिकाले सेवा प्रवाहमा ल्याएको सुधारको खुलेर प्रशंसा गरेका छन्। स्थानीय व्यवसायी, सामाजिक अगुवा तथा सर्वसाधारणहरूले नगरपालिकाले सञ्चालन गरेका विकास निर्माणका कामहरूमा गुणस्तरमा सुधार आएको, नीति निर्माणमा पारदर्शिता कायम गरिएको र जनताको सहभागिता बढाइएको बताउँछन्।
स्थानीय व्यापारी रामेश्वर यादव भन्छन्, “पहिले नगरपालिकामा सेवाका लागि धाइरहनु पर्थ्यो। फाइल अघि बढ्दैनथ्यो। अहिले भने काम समयमै हुन्छ। उप-सचिव भुजेल आएपछि प्रशासनिक काममा गति आएको छ।”
यस्तै, समाजसेवी माया देवीले भनिन्, “नगरपालिकाले हालैका वर्षहरूमा सडक निर्माण, सरसफाइ र शिक्षा क्षेत्रमा राम्रो काम गरेको छ। भुजेलले जनतासँग समन्वय गरेर योजना बनाएपछि परिणाम सकारात्मक देखिएको छ।