पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा गौरमा दीप प्रज्वलन

162

रौतहट — पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको समर्थनमा रौतहट सदरमुकाम गौरमा दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गौर नगरअध्यक्ष कौशल साहको नेतृत्वमा गौरको वीपी चोकमा दीप प्रज्वलन गर्दै शाहको अभिव्यक्तिलाई शतप्रतिशत सत्य रहेको भन्दै समर्थन जनाइएको हो।

नगरअध्यक्ष साहका अनुसार, प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्राले जनतालाई सुखी बनाउन सकेको छैन। “युवाहरू विदेश पलायन भइरहेका छन्, रोजगारीको अवसर छैन, भ्रष्टाचार र अपराध बढ्दै गएको छ। जनताहरू अक्रान्त छन् तर राज्यसत्ता संचालनकर्ताहरू मोजमस्तीमा रमाइरहेका छन्,” उनले भने।

पूर्व राजाले जनताको पीडा सहन नसकी दिएको अभिव्यक्तिबाट सबैले पाठ लिनुपर्ने साहको भनाइ छ। दीप प्रज्वलन कार्यक्रममा नगर अध्यक्ष साहसहित नगरका पदाधिकारी र कार्यकर्ताहरूले नाराबाजी समेत गरेका थिए।

कार्यक्रममा सहभागिहरूले वर्तमान शासन व्यवस्थाप्रति असन्तोष व्यक्त गर्दै जनताको पीडा सम्बोधन गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन्।