१२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ छनौट चरण सम्पन्न, १५ जना अन्तिम चरणमा प्रवेश

31

रौतहट । १२औं जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ को छनौट चरण गौर नगरपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँहरूबाट १०५ जना महिला प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १५ जना अन्तिम चरणमा प्रवेश गर्न सफल भएका छन् ।
गौर नगरपालिकाका नगर उपप्रमुख शैल कुमारी साहले रिवन काटेर छनौट चरणको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा उहाँले महिलाहरूको खेलकुद क्षेत्रमा बढ्दो सक्रियता प्रशंसनीय रहेको बताउँदै महिलालाई खेलकुद मार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने कार्यमा यस्ता प्रतियोगिताहरूले ठूलो योगदान गर्ने उल्लेख गर्नु भयो ।
प्रतियोगिता संयोजकका अनुसार सहभागी १०५ जना खेलाडीलाई १५ वटा समूहमा विभाजन गरिएको थियो । अन्तिम चरणमा प्रवेश गर्ने खेलाडीहरूको रौशनी कुमारी यादव,पिंकी कुमारी,प्रियंका पण्डित,सिमरन जैसवाल,श्रिष्मा रानी पटेल,नुतन कुमारी राम,निकि कुमारी पासवान,मोनिका कुमारी साह,सन्जनी कुमारी यादव,अलका कुमारी साह,रबिना साह,मिथलेश कुमारी,सलोनी दास,रानी कुमारी यादव,रितु कुमारी पटेल प्रत्येक समूहका प्रथम स्थान हासिल गर्ने खेलाडीहरू अन्तिम चरणका लागि छनोट भएका हुन् ।
राजदेवी मिडिया सेन्टर गौर रौतहटद्वारा बिगत १२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता जिल्लाको प्रतिष्ठित खेलकुद प्रतियोगितामध्ये एक हो । महिला खेलकुद प्रवद्र्धनका लागि प्रतियोगिता महत्त्वपूर्ण मानिन्छ । आयोजक संस्थाका अध्यक्ष राम पुकार पटेलका अनुसार महिलाहरूलाई खेलकुदमा प्रेरित गर्न र उनीहरूको प्रतिभालाई उजागर गर्न प्रतियोगिता विशेषरूपमा आयोजना गरिएको हो ।
उहाँले भन्नुभयो हिला खेलाडीहरूका लागि एउटा उत्कृष्ट प्लेटफर्म हो । वर्षेनि प्रतियोगिताको लोकप्रियता बढ्दै गएको छ । यस वर्ष १०५ जना प्रतिस्पर्धीले भाग लिएको देख्दा खुशी लागेको छ । महिलाहरूको सशक्तिकरणका लागि यस्ता प्रतियोगिताहरूले सकारात्मक प्रभाव पार्ने र खेलकुद क्षेत्रमै भविष्य खोजिरहेका खेलाडीहरूका लागि प्रेरणा बन्ने आयोजक समितिले विश्वास लिएको छ ।
प्रतियोगिताको अन्तिम चरण यही फागुन ७ गते गौरको बी.पी. चौकमा हुनेछ । आयोजकका अनुसार अन्तिम चरणमा प्रतिस्पर्धा अझ रोमाञ्चक हुनेछ । निर्णायक चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पुरस्कार पनि प्रदान गरिने छ । प्रथम हुनुले ५०,००० दोश्रो हुनुले ३०,००० र तेस्रो हुनुले २०,००० रकम समेत पाउनेछन् ।
महिला खेलकुदलाई थप प्रवद्र्धन गर्न यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना दिँदै, खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने विश्वास लिइएको छ ।