लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

24

रौतहट । रौतहटको राजपुर नगरपालिकाको सरोकारवालाहरुसंग लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम गौरको होटल सिया पैलेसको सभाहलमा सम्पन्न भएको छ । नेपाल इस्लामिक रिलिफ, इस्लामिक रिलिफ क्यानडा र आरडीसी नेपालको संयुक्त सहकार्यमा लैंङ्गिक हिंसा न्यूनीकरण परियोजना सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजपुर नगरपालिकाका उप–प्रमुखसहित योजना शाखा,स्वास्थ्य शाखा,शिक्षा शाखाका प्रतिनिधिहरू,पत्रकारहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । लैंङ्गिक हिंसा न्यूनीकरणका लागि प्रभावकारी रणनीति तयार पार्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका ३५ जना जनप्रतिनिधि तथा कर्मचारी सहभागी भएका थिए ।
लैंङ्गिक हिंसा हाल नेपालमा गम्भीर रुपमा सामाजिक समस्या बनेको छ । समस्याको न्यूनीकरणका लागि स्थानीय तहमा विभिन्न पहलहरू आवश्यक रहेको परियोजना अधिकृत धर्मेन्द्र कुमार साहले बताए । कार्यक्रमको मुख्य उद्देश्य समुदायमा लैंङ्गिक हिंसाबारे जनचेतना फैलाउने, हिंसाका घटनाहरू न्यूनीकरण गर्न नगरपालिकाको भूमिका बढाउने, र पीडितहरूलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो ।
आरडीसी नेपालका अध्यक्ष पारस हुसेनले लैंङ्गिक हिंसा न्यूनीकरणका लागि यस्ता परियोजनाहरू अति आवश्यक रहेको उल्लेख गरे । उनले भने लैंङ्गिक हिंसा रोक्नका लागि नीतिगत सुधार, कानूनी पहुँच, शिक्षा प्रणालीको सशक्तीकरण र समुदाय स्तरबाट पहल गर्न आवश्यक रहेको बताए । कार्यक्रमले सबै सरोकारवालाहरूलाई एकसाथ ल्याएर सवाधान खोज्ने प्रयास गरेको स्पष्ट पारे ।
राजपुर नगरपालिकाका उप–प्रमुख जमिला असगरीले नगरपालिकाले लैंङ्गिक हिंसाका घटनाहरू न्यूनीकरण गर्न गम्भीर रूपमा काम गरिरहेको र अगामी दिनहरुमा अझै गर्दै जाने बताए । यसका लागि योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने वहाले बताउनु भयो । आगामी दिनमा विद्यालय, स्वास्थ्य संस्थाहरू र समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनेछ ।
कार्यक्रममा स्वास्थ्य, शिक्षा, र सामाजिक विकाससँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल भएको थियो । सहभागीहरूले लैंङ्गिक हिंसा न्यूनीकरणका उपायहरूबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमपछि राजपुर नगरपालिकाले लैंङ्गिक हिंसा न्यूनीकरणका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाले निम्न उपायहरू अपनाउने योजना बनाएको जानकारी गराइयो । विद्यालय तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालनपीडितहरूको मनोवैज्ञानिक परामर्श तथा कानूनी सहायता प्रदान गर्ने व्यवस्था, नगरपालिकामा लैंङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी विशेष कार्यसमिति गठन, स्थानीय सञ्चारमाध्यमहरू मार्फत हिंसा विरुद्ध अभियान सञ्चालन, स्वास्थ्य तथा सुरक्षा सेवाहरूलाई थप प्रभावकारी बनाईने छ ।
राजपुर नगरपालिकामा लैङ्गिक हिंसा रोकथामको लागि सम्प्रेषण प्रणाली स्थापना हुने समेत बताईएको छ । कार्यक्रमको समापनमा आयोजक संस्थाहरूले धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार, नागरिक समाज, र सञ्चारमाध्यमको सहकार्यमा मात्र लैंङ्गिक हिंसा न्यूनीकरण सम्भव हुने बताएका थिए ।