दलको नेता चयन गर्न ठाकुर जनकपुरमा 

1214

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ संसदीय दलको नेता चयन गर्न अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा वरिष्ठ नेता ठाकुरले आइतबार बस्ने बैठकमा दलको नेता छनौटको विषयमा छलफल हुने बताएका हुन् । आइतबार २ बजे लोसपा प्रदेश २ को बैठक डाकिएको छ । बैठकमा दलको नेता चयन, प्रदेश सरकारबाट सर्मथन फिर्ता लिने/नलिने र समसमायिक विषयमा छलफल हुने बुझिएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अल्गिएर ५५ सांसदमध्ये १६ सांसदले लोसपा रोजेका छन् । संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतोले कसरत गरिरहेका छन् ।
 
सोनल तत्कालीन राजपा संसदीय दलका नेता थिए । लोसपा गठन भएपछि संसदीय दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि विधान बनाइएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन हुने नेताहरुको भनाइ छ ।
 
सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता ठाकुर केन्द्रीय सरकारमा सहभागी हुने/नहुने बारे बोल्न मानेन् । सञ्चारकर्मीको जिज्ञासामा सरकारमा जाने कुरा तपाईंबाट मात्रै थाहा भएको भन्दै पञ्छिए । एमसीसीको विषयमा पनि अहिले बोल्नु पर्ने आवश्यकता नरहेको उनले बताए ।

संसदमा गएपछि लोसपाले औपचारिक धारणा बनाउने उनको भनाइ छ । तर, लोसपाकै अर्का नेता अनिल झाले एमसीसीको समर्थन गर्ने संकेत गरेका छन् । ठाकुरसँगै काठमाडौंबाट जनकपुरधाम आएका झाले एमसीसीको विरोध नगर्ने बताएका हुन् । औपचारिक जानकारी आएपछि लोसपाले निर्णय लिने उनले जानकारी दिए ।