आसमान नेपालको आयोजनामा युवा च्याम्पियनहरुका लागि एसआरएचआर पोडकास्ट कार्यशाला सम्पन्न

155

रौतहट । ब्रीटिस काउन्सिल, भिएसओ र युकेएडको साझेदारीमा संचालित जेम्स परियोजनाको आर्थिक सहयोगमा तथा आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने एसआरएचआर (यौन र प्रजनन स्वास्थ्य र अधिकार) पोडकास्ट कार्यशाला कार्यक्रम गौतम होटेल चन्द्रनिगाहपुर, रौतहटमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले एसआरएचआर पोडकास्ट शिक्षा र वकालतको लागि एक प्रभावकारी उपकरण भएको बताए । उनले यस माध्यमले चेतना जगाउन, शिक्षा प्रवद्र्धन गर्न, व्यक्तिहरूलाई सशक्त बनाउन तथा लैङ्गिक समानता प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
यस कार्यशालामा बारा र रौतहटका २० जना युवा च्याम्पियनहरूको सहभागिता रहेको थियो । उनीहरूलाई सार्वजनिक शिक्षा, वकालत र सामाजिक परिवर्तनका लागि प्रभावकारी एसआरएचआर पोडकास्ट उत्पादन गर्न आवश्यक सीप प्रदान गरिएको थियो । प्रशिक्षणका लागि गुलाबी संवाद कार्यालय, काठमाडौंबाट करुणा देवकोटा र सबिता आचार्य आएका थिए ।
कार्यक्रमलाई सफल बनाउन आसमान नेपाल गौर शाखाका स्वास्थ्य सहजकर्ता मंजु रजक, सुरज सहनी, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव, भिएसओ रौतहटका आरती पटेल, बारा शाखाका परियोजना संयोजक प्रिती थापा र भिएसओ बाराका अनिता पौडेलको विशेष भूमिका रहेको थियो ।
सहभागीहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए । समापनमा परियोजना संयोजक यादवले कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै कार्यशालाले सहभागीहरूलाई एसआरएचआर क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे ।