रौतहट । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेख जमसेदले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेका छन् । उनीहरूले रौतहटको गौरमा दुई जना व्यक्तिलाई बन्दुक बोकेर हिँड्न लगाएका थिए जसको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएको छ । शनिबार गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा अब्दुल खान पुगेका थिए । सोही क्रममा दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेको तस्बिर खिचिएको थियो । साथै उनीहरू घर भित्र हिँड्दा समेत बन्दुक बोकेका व्यक्ति साथमै थिए । जिल्ला इञ्चार्ज जमसेदले उक्त भेटघाटका तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखेपछि हतियार प्रदर्शनको विषयले विवाद सिर्जना ग¥यो । स्थानीयबासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राजनीतिक दलका नेताहरूले हतियार देखाउनु अनुशासनहीनता भएको भन्दै विरोध जनाए ।
हतियार प्रदर्शनबारे आलोचना चुलिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले शेख जमसेदलाई बोलाएर सोधपुछ गरेको छ । प्रहरीका अनुसार हतियार कानुनी रूपमा दर्ता गरिएका लाइसेन्स प्राप्त बन्दुक हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार सोधपुछपछि जमसेदलाई छाडिएको छ । उनले भने सामाजिक सञ्जालमा देखिएको बन्दुक इजाजत प्राप्त भएको प्रमाणित भएकाले कानुनी रूपमा कुनै कारबाही हुने छैन । नेपालमा लाइसेन्स प्राप्त हतियार घरमा राख्न पाइने व्यवस्था भएकाले हामीले सोधपुछपछि छाडेका हौं ।
सो घटनापछि जनमत पार्टीका जिल्ला इञ्चार्ज शेख जमसेदले हतियार प्रदर्शन नियतवश नभएको दाबी गरेका छन् । उनका अनुसार घरमा बन्दुक सफा गर्ने क्रममा उक्त तस्बिर खिचिएको थियो । उनले सामाजिक सञ्जालमा राख्नु आफ्नै गल्ती भएको स्वीकारेका छन् । दुवै बन्दुक इजाजत प्राप्त हुन् । तर सामाजिक सञ्जालमा राख्नु मेरो भूल थियो । अबदेखि यस्ता गतिविधि दोहो¥याउने छैन जमसेदले भने । आलोचना भएपछि उनले आफ्नो फेसबुकबाट तस्बिर तथा भिडियो हटाइसकेको जानकारी दिए ।