रौतहटमा १७ वर्षदेखि विद्यार्थीहरु बोरामै बसेर पढ्न बाध्य

89

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरमा रहेको दलित प्राथमिक विद्यालयका विद्यार्थी गएको १७ वर्षदेखि बोरामा बसेर पढिरहेका छन् । बकैया नदीको ‘ड्याम’ मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो । आर्थिक अभावमा विद्यालयको पक्की भवन र फर्निचरहरू नहुँदा बालबालिका दुई वटा स–साना टहरामा पढिरहेका छन् । कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको गुनासो बताए । अर्का विद्यार्थी सुबोधकुमार पटेलले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने बताए ।

घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए ।विद्यालयमा पढ्ने वातावरण नै नभएको तर विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।विद्यालयमा चार जना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा एक सय ७५ जना विद्यार्थी छन् । पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गएको साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले बताए ।