गौर आँखा अस्पतालको उन्नति र विकाससम्बन्धी विशेष छलफल सम्पन्न

167

रौतहट । रौतहटको गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री माननीय कृष्णा यादव, माननीय नागेन्द्र साह, राजदेवी नगरपालिकाका पूर्व नगर प्रमुख धिरेन्द्र कुमार सिंह, र गौर नगरपालिकाका मेयर प्रत्याशी मोहन यादवलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गौर नगरपालिका–८ का वडा अध्यक्ष जनार्दन साह र नेपाली काग्रेसका युवा नेता श्रीराम यादवको समेत उपस्थिति थियो। छलफलको प्रमुख उद्देश्य अस्पतालको सेवाग्राहीहरूको सुविधालाई अझ गुणस्तरीय बनाउने र संस्थागत विकासका लागि रणनीतिहरू तय गर्नु रहेको बताइएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिजय कुमार सिंहले अस्पतालको हालको अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउँदै, यस संस्थालाई अझ सक्षम र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, जिल्ला नेत्र ज्योति संघ रौतहटका सचिव बच्चा प्रसाद यादव, अस्पताल प्रशासन प्रमुख नागेश्वर प्रसाद चौधरी, वरिष्ठ लेखा अधिकृत पवनकुमार, र समाजसेवी मनोज यादवजस्ता अन्य विशिष्ट व्यक्तिहरूले पनि आफ्नो धारणा राखेका थिए।

उक्त छलफलमा अस्पतालको भौतिक संरचना, प्रविधि, जनशक्ति, र वित्तीय व्यवस्थापनका विषयमा विशेष ध्यान दिइएको थियो। सहभागीहरूले सर्वसाधारणका लागि सेवा पहुँच बढाउन थप स्रोतसाधन परिचालन गर्ने आवश्यकता रहेको औंल्याए।

यस छलफलले गौर आँखा अस्पतालको सेवा गुणस्तर अभिवृद्धि र क्षेत्रीय नेत्र उपचार सेवामा नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ।