स्पर मर्मतको लागि स्थानीयको प्रदेश सांसदलाई आग्रह

51

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ र ३ मा बागमती नदीको स्पर मर्मत नहुँदा स्थानीयवासीमा ठूलो चिन्ता बढेको छ । असोज १२ गते आएको बाढीले वडा नम्बर २ भलोहिया र वडा नम्बर ३ मत्सरीमा रहेको तीन वटा स्परमा अत्यधिक क्षति पु¥याएको छ भने केही स्परमा आंशिक क्षति पुगेको छ ।

स्परको क्षतिले गर्दा बाढी प्रभावित क्षेत्रका किसानहरू खेती गर्नबाट वञ्चित भएका छन् भने गाउँबस्ती जोखिममा परेको छ । १४ नम्बर स्परको झण्डै २०० मिटर क्षेत्र नदीले बगाएपछि दुबै तर्फका कृषकहरू खेतीयोग्य जमिन गुमाएर आर्थिक समस्यामा परेका छन्। यसका साथै, स्परको अभावले स्थानीयको जनजीवन कष्टकर बनेको छ । स्परको क्षतिले गर्दा नदी किनारमा रहेको भाग २० फिटसम्म गहिरो भएको र त्यसले गर्दा आवागमन तथा दैनिक क्रियाकलापमा बाधा परेको स्थानीयले जनाएका छन् । बाढीको थप जोखिमले गर्दा नजिकका बस्तीहरू पनि विस्थापनको उच्च सम्भावना रहेको स्थानीयको चिन्ता छ ।

स्परको तत्काल मर्मत गराउन स्थानीय रजनीश झाले प्रदेश सांसद इन्दु कुमारी साहलाई पहल गर्न आग्रह गरेका छन् । वडाध्यक्ष सुरेश चौधरीले वडाको बजेटले स्पर मर्मत सम्भव नभएको भन्दै प्रदेश सरकारको बजेटमार्फत यो समस्या समाधान गर्नुपर्ने बताए । बर्षायाम नजिकिँदै गर्दा स्पर मर्मत नहुँदा बाढीले छेउका बस्ती नै बगाउन सक्ने डर छ उहाँले बताएका छन । स्थानीयको आग्रहपछि प्रदेश सांसद साहले स्पर मर्मत कार्य चाँडै सुरु गरिने आश्वासन दिनुभएको छ । स्पर मर्मतका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ काम छिट्टै थालिन्छ उहाँले बताएका छन ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्तलाल कर्णका अनुसार बाढीको कारण क्षतिग्रस्त स्परको मर्मत तत्काल थाल्नुपर्ने देखिएको छ । उहाँले यो काम बागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालय परवानीपुर अन्तर्गत पर्नेसमेत बताउनुभयो। सांसद साहको निरन्तर दवावले मर्मत प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

बाढीले स्परमा पु¥याएको क्षति निरीक्षण गर्न नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, अर्थमन्त्री सुनिल कुमार यादव र ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले समेत सो स्थानको अवलोकन गर्नुभएको छ ।
बाढीको जोखिमले गर्दा स्थानीयवासीले स्पर मर्मतमा ढिलाइ भए आगामी वर्षायाममा नजिकका बस्तीहरू पूर्ण रूपमा बगाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले प्रदेश सरकारलाई मर्मत कार्य चाँडो थाल्न आग्रह गरेका छन् ।
बाढीको क्षतिले गर्दा रौतहटको दुर्गा भगवती गाउँपालिकाका स्थानीयवासी भयभित भएका छन् । स्परको मर्मत कार्य चाँडो सुरु नभए थप मानवीय र भौतिक क्षति हुने सम्भावना छ । स्थानिय जनताको मागलाई ध्यानमा राख्दै प्रदेश सरकार र सम्बन्धित निकायले तुरुन्त कदम चाल्न आवश्यक देखिन्छ ।