रौतहट । नेपाल भारतको सीमावर्ती क्षेत्रमा बासिन्दाहरु चारपाङ्गे सवारी साधन लिएर सहज रुपमा नेपाल भारत तर्फ आवत–जावत गर्न भन्दै इशनाथ नगरपालिकाद्धारा मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहटको इशनाथ नगरपालिकाको नगरप्रमुख कौशल्या देवी, उपप्रमुख मोहम्मद प्रवेज, वडाध्यक्षहरु तमजुल खाँ, धर्मेन्द्र साह, शत्रुघन सिंह, शेख अब्दुल खालिक र जवाहिरलाल साहले लेटरप्याडमै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहा, २ औरैया र ४ लतमरी टोल नजिक रहेका नेपाल भारत सीमाबाट चारपाङ्गे सवारी साधन विगतमा आवत–जावत हुने गरेको भएपनि पछिल्लो केही समयदेखि उक्त सीमाहरुबाट चारपाङ्गे सवारी साधन आवत–जावत गर्न बन्द भएपछि दुबै देशका नागरिक बीचको पारिवारिक सम्बन्ध प्रभावित भएको प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउदछौं ।
नेपाल भारतको खुल्ला सिमाना भएकोमा दुबै देशका जनताहरु बीच पारिवारिक सम्बन्ध, आपसी भाइचारा, सदभाव कायम रहोस र दुबै देशका नागरिक बीचको रोटीबेटीको सम्बन्ध माथि कुनै खलल नपुगोस भन्दै प्रजिअको ध्यान जान जरुरी रहेको भनेर ज्ञापन पत्र बुझाइएको नगरप्रमुख कौशल्या देवीले बताइन ।
सदियौं देखि रहिआएको दुबै देश बीच बेटीरोटीको सम्बन्ध प्रभावित बनाउने कार्यलाई निरुत्साहित गरी कडाईका साथ चेकजाँच गरेर मात्रै आवत–जावत गर्न दिन हुनुका साथै सो क्षेत्रमा खडा गरिएका बाधा व्यवधानलाई समाप्त पारेर नागरिकको प्रशासन प्रतिको विश्वास कायम गराउन जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायसंग समन्वय तथा सवाधानको लागि ज्ञापन पत्र बुझाएको नगरप्रमुख कौशल्याले बताइन् । यसअघि इशनाथ नगरपालिकाको पूर्व नगरप्रमुख सन्तोष मेहताले पनि सोही नाकाबाट चार पाङ्गे सवारीसाधन आवत–जावत गर्न रोक लगाइएकोमा प्रजिअ रेग्मीलाई ज्ञापन पत्र बुझाइएका थिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमावर्ती नागरिकको स्थानीय समस्या भएपनि कानुनी रुपमा सवाधान हुने भएको हुँदा गृह मन्त्रालयमा समस्यालाई अवगत गराइएको त्यहाँबाट नै सवाधानको प्रयास हुने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।