आसमान नेपालको आयोजनामा MSS प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न

106

रौतहट । ब्रीटिस काउन्सिल, भि.एस.ओ. (VSO), र UKaid को साझेदारीमा संचालित जेम्स (GEMS) परियोजनाको आर्थिक सहयोगमा र आसमान नेपाल गौर शाखाको आयोजनामा तीन दिने MSS (Minimum Service Standards – न्यूनतम सेवा मापदण्ड) प्रशिक्षण कार्यक्रम होटल सिया प्यालेस, गौर, रौतहटमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जेम्स परियोजनाका रौतहट परियोजना संयोजक संजय कुमार यादवले MSS प्रशिक्षणले स्वास्थ्य संस्थाहरुमा दिने सेवाहरुलाई गुणस्तरीय बनाउन र सहभागीहरुको प्राविधिक सीप विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रशिक्षण कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्यूनतम सेवा मापदण्डहरुमा सुधार गर्दै स्वास्थ्य सेवा गुणस्तरलाई प्रभावकारी बनाउनु थियो। कार्यक्रममा गढीमाई र गौर नगरपालिकाका वडा अध्यक्षहरु, स्वास्थ्य संयोजकहरु, स्वास्थ्य सह संयोजकहरु, र स्वास्थ्य संस्थाहरुका प्रमुखहरु गरी जम्मा २४ जनाले सहभागिता जनाएका थिए। सहभागीहरुलाई कार्यक्रम अवधिभर खाना, बसाइको व्यवस्था, र यात्रा सुविधा प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत संजीव कुमार यादवले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमलाई सफल बनाउन आसमान नेपालको गौर शाखाका स्वास्थ्य सहजकर्ता मंजु रजक र सुरज सहनी, फाइनान्स अफिसर आशिष कुमार मिश्र, अजित कुमार यादव, र VSO रौतहटका आरती पटेलको पनि विशेष भूमिका रहेको थियो।

MSS प्रशिक्षणले स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड लागू गर्न सहभागीहरुलाई प्राविधिक सीप प्रदान गर्‍यो। सहभागिहरुले आफ्ना अनुभव साझा गर्दै यसले आफ्नो काममा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे।प्रशिक्षक संजीव कुमार यादवले MSS को विभिन्न पक्ष, मापदण्डका विधिहरु, र कार्यान्वयन प्रक्रियाका बारेमा प्राविधिक जानकारी प्रदान गरे। प्रशिक्षण अवधिभर सहभागीहरुले आफ्नो स्वास्थ्य संस्थामा सेवाहरु कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा अभ्यास र छलफल गरे।

सहभागीहरुले यस प्रशिक्षणलाई अत्यन्तै उपयोगी र प्रभावकारी रहेको प्रतिक्रिया दिए। उनीहरुले आसमान नेपाल, जेम्स परियोजना, र प्रशिक्षक संजीव कुमार यादवलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर उपलब्ध गराउन आग्रह गरेका छन ।

कार्यक्रमको समापनमा परियोजना संयोजक संजय कुमार यादवले आसमान नेपाल जेम्स परियोजना रौतहटको टोलीले यस कार्यक्रमलाई सफल बनाउन गरेको मेहनत र समर्पणप्रति आभार व्यक्त गरे। उनले MSS प्रशिक्षणले सहभागीहरुको सीप विकासमा मात्र होइन, सेवा उपयोगकर्ताहरुका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्न ठूलो टेवा पुर्‍याउने बताए।

तीन दिनसम्म चलेको यो प्रशिक्षण कार्यक्रमले रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरुमा सुधार ल्याउने र स्वास्थ्य सेवा गुणस्तरमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ।