आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर

104

वीरगञ्ज,०४ असार। वीरगञ्जको आदर्शनगरस्थित नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक अगाडी आगलागी भएको हो । बिहान साढे ११ बजेतिर भएको आगलागीबाट २ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर क्षती भएको छ ।

साढे ११ बजे लागेको आगोलाई वीरगञ्ज महानगरपालिकाको दमकलसँगै नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । उनकाअनुसार आगलागीबाट बैंककै कार्यालय अगाडी सडकमा पार्किङ्ग गरिएको वीरगञ्ज महनागरपालिका वडा नम्बर ३ बस्ने संजय प्रसाद यादवको प्र.२–०३–०१८प ८२१९ नम्बरको कालो रङको १५०सिसी पल्सर मोटरसाइकल जलेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगंज बस्ने मिथिलेश प्रसाद यादवको प्र.२–०३–००१ प ७९०४ नम्बरको १५० सिसीको कालो रातो रंगको पल्सर मोटरसाइकल पनि जलेर नष्ट भएको अध्यक्ष खेतानले बताए । आदर्शनगरस्थित ट्रान्सफर्मर अगाडी दुवै मोटरसाइकल पार्किङ्ग गरिएको हुँदा आगो लागेर नष्ट भएको खेतानको भनाई छ । उनले अबदेखि कसैलाई पनि विद्युती पोल वा ट्रान्सफर्मर लगायतका विद्युतीय सामग्री नजिक सवारी पार्किङ्ग नगर्न पनि अनुरोध गरेका छन् ।

आगो के कारणले लागेको हो भन्ने खुलीसकेको छैन । यद्यपी विद्युत सर्ट भएर लागेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय घरघरमा विद्युतको खपत अत्यधिक बढेको छ । वीरगञ्जमा मात्रै एक वर्षमा ब्लु स्टार कम्पनीले एक हजार भन्दा बढी एसी बिक्रि गरेको तथ्यले विद्युतको खपत बृद्धि भएको प्रमाणित हुन्छ । एउटा कम्पनीको यति धेरै बिक्रि हुन्छ भने अन्य कम्पनीका पनि सोही संख्याको हाराहारीमा हुने गरेको छ ।

विद्युतको भोल्टेज कम छ, तर खपत दिनप्रतिदिन बढ्दै जानुले यस्ता जोखिम आगामी दिनमा पनि निम्तिन सक्नेमा स्थानीय शशीकान्त सर्राफले चिन्ता व्यक्त गरे । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको लापरवाही भएको उनको आरोप छ । प्राधिकरणले सुरक्षित ढंगले विद्युतीय तार तथा ट्रान्सफर्मर नराख्दा जोखिम बढ्दै गएको छ ।