निजी पैसाले विद्यालयका लागी जग्गा किने

96

रौतहट // रौतहटमा एक जना प्रधानाध्यापकले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ उचिडिह गाउँमा सञ्चालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति कुशवाहाले लाखौँ रुपैयाँको जमिन किनेर विद्यालयलाई दान दिएका हुन् ।
प्रअ कुशवाहाले आठ लाख रुपैयामा एक कट्ठा जमिन किनेर विद्यालयलाई दान किनेका हुन् । विद्यालयमा जमिनको अभावमा कक्षा कोठा निर्माण भइ नरहेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट रोकिएर बसेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैयामा जमिन किनेर विद्यालयलाई दान दिएका हुन् ।रौतहटको कटहरिया नगरपालिका–१ भसेढवाका स्थायी निबासी प्रअ कुशवाहाले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई जमिन हस्तान्तरण गरेपछि देवाही गोनाही नगरपालिकाले सम्मानित गरेको छ । नगर प्रमुख प्रेमलाल साहसहित नगरपालिकाको टोलीले प्रअ कुशवाहाको योगदानको कदर गर्दै सम्मानित गरेको हो ।

विद्यालयसँगै जोडिएको जमिन प्रअ कुशवाहाले किनेर विद्यालयलाई दानमा दिएका हुन् । विद्यालयमा जमिनको अभाव रहेको तथा जमिन किन्न विद्यालयमा आन्तरिक स्रोतको अभाव रहेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैयाँ लगानी गरेका हुन् ।

प्रअ कुशवाहाले उपलब्ध गराएको जमिनमा विद्यालयको भवन निर्माण हुन थालेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपैयाँमा विद्यालयको लागि ४ कोठे भवन निर्माणको काम अगाडि बढेको छ । यसै गरी नगरपालिकाले पनि दुई कोठे भवन निर्माणको काम अगाडि बढाएको छ । नगरपालिकाको १५ लाखको लगानीमा अर्को दुई कोठे भवन निर्माण हुन थालेको हो ।

विद्यालयमा भवनको अभाव रहेको छ । जमिनको अभाव पूरा भएसँगै निर्माण भइरहेका दुवै भवनको निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको समस्या धेरै हदसम्म समाधान हुने प्रअ कुशवाहाको भनाइ छ । विद्यालय भवनको अभावमा विद्यार्थीलाई धेरै समस्या भइरहेको अवस्थामा अबको केही दिनमा भवन र कक्षाकोठाको समस्या समाधान हुने विश्वास आफूले लिएको प्रअ कुशवाहाको भनाइ छ ।

प्रअ कुशवाहाले विद्यालयलाई आफ्नो निजी लगानीमा जमिन किनेर उपलब्ध गराएपछि सबैले प्रशंसा गरेका छन् । प्रअ कुशवाहाको नेतृत्वमा विद्यालयले अझै प्रगति गर्ने विश्वास स्थानीयवासीले लिएका छन् ।