रौतहट – रौतहट जिल्लाका सिमानाकामा लगाइएको ४ चक्के सवारी साधन रोक, अधुरो पुल निर्माण, र जिल्लाको समग्र विकासका मुद्दाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिने भएको छ। रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा हुने उक्त भेटघाटमा जिल्लाका प्रमुख समस्या र तिनको समाधानका उपायहरूमा ध्यानाकर्षण गराइनेछ।
रौतहट जिल्लाका विभिन्न सिमानाकाहरूमा ४ चक्के सवारी साधनको आवागमनमा रोक लगाइएपछि त्यसले स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ। जनताले दैनिक यात्रामा समस्या भोग्नुका साथै व्यापार र आर्थिक गतिविधिमा पनि प्रत्यक्ष असर परेको छ।
यसका साथै, बागमती नदी र बकैया नदीमा बनिरहेका पुलहरू अझै अधुरो अवस्थामा छन्। पुल निर्माण अधुरो हुँदा सवारी साधनको आवागमनमा अवरोध सिर्जना भएको छ भने मानिसहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्दा समय र लागत दुवैमा वृद्धि भएको छ।
रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले भनेका छन्, “जिल्लाका समस्या अब दिगो समाधानतर्फ जानुपर्छ। यातायात रोक हटाउनुका साथै अधुरा विकास आयोजनाहरू पूरा गर्न सरकारको ध्यानाकर्षण आवश्यक छ।”
गुप्ताले पुल निर्माण कार्यलाई तीव्रता दिन र जिल्लाका अन्य विकास आयोजना अघि बढाउन शीघ्र पहल गरिनुपर्ने बताएका छन्।