काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत होली मनाउन दुबई पुगेका छन् । जनमत पार्टीको भातृसंगठन गैरआवासीय मधेशी संघ युएइले आज दुवईमा आयोजना गरेको ‘होली धमाका २०२३’ मा सहभागी हुन राउत त्यहाँ पुगेका हुन् । राउत सो कार्यक्रमका मुख्य अतिथि हुन् । होलीको अवसरमा शुभकामना आदान प्रदानका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष राउत र मधेश प्रदेशका कृषि मन्त्री वसन्त कुशावाहा दुवई आइपुगेको गैरआवासीय मधेशी संघ युएइका अध्यक्ष जगनारायण मण्डलले बताए । कुशवाहा सो पार्टी उपाध्यक्ष समेत हुन् । उनीहरुले कार्यक्रममा शुभकमना मन्तव्य मात्र दिने कार्यक्रम रहेको छ । होलीको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ । कार्यक्रममा सहभागी हुनेहरुका लागि टिकटको समेत व्यवस्था गरिएको आयोजक पक्षले जानकारी दिएको छ । दुवईमा विगत सात आठ वर्षदेखि यो होलीको कार्यक्रम आयोजना हुँदै आइरहेको छ ।कार्यक्रममा राजनीतिक दलको रुपमा सिके राउत सहभागी भएपनि त्यहाँ कुनै पनि राजनीतिक गतिविधि वा मन्तव्य नहुने उनले मडलले बताए । उनले भने, ‘यहाँ कुनै पनि राजनीतिक गतिविधि वा कार्यक्रम गर्न पाइँदैन, यहाँसम्म कि कुनै नेतामाथि कटाक्ष गर्न पनि पाइँदैन त्यही भएर डाक्टर साहब (सिके राउत)ले शुभकामना मन्तव्य मात्र दिनुहुनेछ ।’