रौतहट, भदौ १८ गते । रौतहटमा विहिवार साँझ प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ ।
प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा जिल्लाको गरुडामा झडप भएको छ ।
साँझ ६ बजे इलाका प्रहरी कार्यालय गरुडा अगाडि भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् ।
गरुडा नगरपालिका ८ का निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका सोही ठाउँका विजय रामको प्रहरी हिरास्तमा केहि दिन अघि मात्रै मृत्यु भएको थियो ।
हिरास्तमा प्रहरीले दिएको चरम यातनाका कारण रामको मृत्यु भएको भन्दै गरुडामा विगत केहि दिन देखी दिनहु जसो आन्दोलन हुदै आएको छ ।
प्रहरीको कुटपिट बाट रामको मृत्यु भएको भन्दै दोषी प्रहरीलाई कार्यवाही गर्न माग राख्दै पिडित परिवार र दलित समुदाय आन्दोलित भएका छन । अहिलेसम्म शान्तिपुर्ण आन्दोलन हुँदै आएको अवस्थामा विहिवार एकाएक आन्दोलन उग्र रुप लिएपछि दोहोर झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि प्रहरीले लाठी चार्ज गर्दा दोहोर झडप भएको र स्थितीलाई नियन्त्रणमा लिन ६ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गर्नुपरेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभएको छ ।
घाइतेहरुको गरुडामा विभिन्न क्लिनिकमा उपचार भइरहेको र अहिले अवस्था सामान्य भएको प्रहरी नायव उपरीक्षक श्रैष्ठले बताउनुभयो ।