रौतहट । रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत कार्यरत दुईजना महिला स्वास्थ्य स्वयंसेविका अनार देवी र मालती वर्मालाई दोसाला ओढाई सम्मान तथा विदाई गरिएको छ। नगर प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले सो सम्मान समारोहको नेतृत्व गर्नु भएको हो।
विगत ५० वर्षदेखि स्थानीय स्तरमा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएका उनीहरूले समाजमा महत्वपूर्ण योगदान दिएको भन्दै नगरपालिकाले सम्मान गरेको हो। “स्वास्थ्य सेवामा समर्पित जीवन बिताउनु भएका यी स्वयंसेविकाहरूको योगदान प्रेरणादायक छ,” अधिकृत गुप्ताले बताउनु भयो।
कार्यक्रममा प्रत्येकलाई नगद रु. ५,००० र दोसालासहित विदाई गरियो। विदाई कार्यक्रममा बोल्दै सम्मानित महिलाहरूले जीवनको उत्तरार्ध सुखद होस् भन्ने शुभेच्छासमेत प्राप्त गरेका थिए।
समारोहमा नगर स्वास्थ्य प्रमुख रविन्द्र झा, योजना प्रमुख ईशराजूल खा, नगर प्रमुखका स्वकीय सचिव प्रमोद यादव, सञ्चारकर्मीहरू तथा अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।











